चितवन २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहका जनप्रतिनिधिका काम कार्वाहीको बारेमा अख्तियारले नजिकबाट निगरानी गरिराखेको बताउनु भएको छ । स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि अख्तियारले यसो गरेको उहाले जानकारी दिनु भयो ।
आयोग क्षेत्रीय कार्यालय पोखराले पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट पार्नु भयो ।
स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानुनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा छ उहोले भन्नु भयो । उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै सङ्लग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी सबैभन्दा बढी आयोगमा परेका कारण यस्ता काम रोक्न अथवा कारवाहीका लागि तयार हुनुपर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर पौडेलले नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्ने कुरा सधैँ विवादमा आएको बताउँदै वातावरणीय प्रभाव मुल्याङनको प्रतिवेदनअनुसार घाटगड्डी गरेर बिक्री गरेमा कुनै समस्या नआउँने बताउनु भयो ।
आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख काशीराज दहालले जनप्रतिनिधिले व्यवसाय गर्ने छुट भए पनि आफ्नो स्थानीय तहबाट प्रत्यक्ष लाभ लिने गरी व्यवसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गर्नु भयो ।


