काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज विदाइ गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनु भयो ।
‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटरसहितको उचाइ नापेर ल्याउनु होला’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’
टोलीलाई मौसम र स्वास्थ्यलाई भने ख्याल गरेर मात्र काम गर्न सुझाव दिनु भयो । ‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली जाँदैछन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।


