चितवन समाचार डटकम,
चितवन २५ चैत । न्याय कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अस्पतालको विकासमा ध्यान दिएर काम गर्न आग्रह गर्नु भएको छ ।
भरतपुर अस्पतालको ५६ औ वार्षिक उत्सव समारोहलाई सोमबार सम्वोधन गर्दै उहाले निजि स्वार्थ त्यागेर अस्पतालको विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । भरतपुर अस्पताल हाम्रो गहना हो उहाले भन्नु भयो ‘हिजो सामान्य अस्पताल थियो आज सबैको मेहनतले केन्द्रीय अस्पताल भएको छ त्यसैले यसको गरिमा जोगाउनु पर्छ ।’
चितवनको निर्वाचान क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले भन्नु भयो ‘अस्पताललाई कस्तो बनाउने तपाइहरुको हातमा छ, हामी त बाहिरबाट सहयोग गर्ने हो ।’ अस्पतालको कमीकमजोरी समाधान नगरे यसको गरिमा घट्छ । कार्यक्रमलाई सम्वोधन गर्दै उहाले चिकित्सकहरुको जायज मागलाई सम्वोधन गरेर कानुन निर्माण भएको जानकारी दिनु भयो ।
उपचारको क्रममा विरामीको मृत्यु भएर विवाद भएमा कुन पक्षबाट कमजोरी भएको भन्ने कुरा छानविन गर्न जिम्मेवार निकाय तोकिएको जानकारी दिनु भयो । गल्ती भए नभएको विषयमा चिकित्सकको नेतृत्वमा प्रहरी अधिकृत, कानुन व्यवसायी रहेको समितिले नै अनुसन्धान गरेर दोषि ठहर गर्ने कानुन निर्माण गरेको जानकारी दिनुभयो ।
अस्पतालको वार्षिक उत्सवमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले समन्वय नगरी काम गरेकोमा आपत्ती जनाउनु भयो । ‘भरतपुर अस्पताल हामी सवैको हो यसको विकासमा हाम्रो पनि चिन्ता छ तपाइ एक्लै हिड्ने होइन ’ उहाले भन्नु भयो ‘मेसु ज्यू एक्लै हिडेर पुगिदैन समन्वय गर्नुहोस, तपाइ आउनु अघि हामीलाई व्यवास्था गरिएको थिएन अहिले के भयो ? ’ वार्षिक उत्सव समारोहमा तपाइले विकासका योजना खोइ ल्याएको उहाले प्रश्न गर्नु भयो । ‘समन्वय समितिले अस्पतालको वर्थिङ सेन्टरलाई केही बजेट सहयोग गर्ने तयारी गरेको थियो तर तपाइले केही योजना ल्याउनु भएन ’ प्रमुख डल्लाकोटीले भन्नु भयो । यस अघि हरेक हप्ता अस्पतालको निरिक्षण गरेर कमजोरी सुधारगरी योजना बनाउने गरेका थियौ तर अहिले त्यस्तो वातावरण छैन उहाले भन्नु भयो ‘एक्लै हिड्नु भएको छ समन्वय भएन ।’
महेन्द्र आदर्श चिकित्सालयका रुपमा स्थापना भएको भरतपुर अस्पताल सोमबारबाट ५६ औ वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष तामझामका साथ वार्षिक उत्सब मनाउदै आएकोमा यस वर्ष यस्तो भएन । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण पौडेल प्रति धेरैले आलोचना गर्नु भयो । उहाँका कार्यशैली प्रति असन्तुष्टी देखियो ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठले आफ्नो पार्टीलाई तल्लो तहको व्यवहार गरेको भन्दै आपत्ती जनाउनु भयो । आफूलाई झुक्किएर कार्यक्रमलाई बोलाएको भन्दै व्यङग गर्नु भयो ।
संघीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भूजेलले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कार्यक्रममा निम्तो नदिएको भन्दै आपत्ती वनाउनु भयो । उहाले भन्नु भयो ‘अस्पतालको मन्त्रालय कुन पार्टी अन्र्तगत छ, देशकै तेस्रो ठुलो दल संघीय समाजवादी फोरम हो ववास्था गर्ने ।’ सानो पार्टी भयो भनेर हेप्ने । स्वास्थयमन्त्रीले हस्ताक्षर गरेर यही अस्पताललाई केन्द्रीय अस्पताल बनाउन हुने, तर त्यही मन्त्रीलाई कार्यक्रममा नबोलाउने ? आइतबार मात्रै स्वास्थ्यमन्त्री यादव भरतपुरको एक अस्पतालको कार्यक्रममा सहभागी हुन आउनु भएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको व्यवहार प्रति सहभागीहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आलोचना गरेका थिए ।
कार्यक्रममा सांसद उमा रेग्मी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतलगायतले विरामीको सेवामा अस्पतालको ध्यान जानु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष खिमलाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । अस्पतालको वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदमा विजयी भएका, नर्सिङ कलेजमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।


