बारा २१ चैत । नयाँ नयाँ मानिसको भिड । धुलो उडाउदै आउने गाडी । राहत बोकेर आउनेहरुको चहलपहल । जिल्ला भित्र मात्र नभई देशका विभिन्न स्थानबाट राहत सामाग्री लिएर गाडी बस्ती प्रवेश गरिरहेका हुन्छन् । साना सवारी साधनमा पनि राहतका सामग्री थुप्रै देखिन्छन् ।
गाउमा आउनेको सख्या त्यतीकै बढ्दो छ । तर हुरीले वितण्डा मच्चाएको फेटा गाउपालिका १ भलुई भरवलियाका पीडितले भने चार दिन वितिसक्दा पनि टाउको लुकाउने राहत समेत पाएका छैनन् । उनिहरु अझै पनि भत्किएको घरको भगनावशेषमै दिनरात काटिरहेका छन् ।
सानो बस्तीमा सात जनाको ज्यान जाने गरी आएको उदण्ड हुरीले करिब दुई सय भन्दा बढी परिवारलाई घरविहिन बनाएको छ । बस्तिका अन्य घरसमेत बस्न लायक छैनन् । राहत नपाएपछि भत्किएको घरमै पीडितले आफनो कष्टकर दैनिकि बिताईरहेका छन् ।
घर भत्किएर भगनावशेमा बसिरहेका भलुईका अर्जुन पटेलले अहिलेसम्म राहत नपाएको गुनासो गरे । राहत बाड्न भनेर दैनिक जसो गाउमा भिड् लाग्ने गरेको भएपनि पेटभर खाने र सुत्न पाउने गरी राहत नपाएको उनको भनाई छ । गाउमा बिहानदेखि बेलुकासम्मै भिड लाग्छ । राहत बोकेर गाडी पनि आईरहेको हुन्छ तर त्यो राहत कता जान्छ थाहा हुदैन् । चार दिनदेखि यसैगरी बसिरहेका छौ ।

राहत नपाएका कारण बस्तीका अधिकांश पीडित भगनावेशकै थुप्रोमा भेटिन्छन् । घटनाका घाईते समेत खुल्ला आकाशमुनि सुतिरहेका देखिन्छन् । हुरीले भत्काएका भगनावशेष पन्छाउने काम समेत भएको भएको देखिदैन् । बस्तीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको देखिन्छन् । तर तीन दिन वित्दा पनि घरविहिनले टाउको लुकाउने त्रिपाल भेट्न सकेनन् ।
स्थानिय सुनिता यादवले घटना भएको धेरै दिन वितिसक्दा पनि पीडितलाई बस्ने बासको ब्यवस्था हुन नसकेको बताईन् । राहत बोकेर दैनिक गाडी आईरहेपनि वास्तविक पीडित भने भगनावशेषमै देखिनु दुःखद् रहेको उनको भनाई छ । घटना भएको भोलिपल्टदेखि राहत बोकेर मानिसहरु आउन थालेका हुन् । कसैले खानेकुरा बोकेर आएका छन् कोही त्रिपाल बोकेर आउछन सुनिताले भनिन् तर केही बाहेक अधिकांश पीडित भत्किएको घरकै भगनावशेषमा बसिरहेका छन् ।
भोक मेटाउनेसंगै टाउको लुकाउने राहत वास्तविक पीडितलाई वितरण गर्न सके थुप्रै परिवारको दैनिकि सहज हुने सुनिता बताउछिन् । उनका अनुसार विभिन्न सरकारी निकाय, गैरसरकारी तथा सामाजिक संघसंस्था, राजनितिक दलका नेताकार्यकर्ता र विभिन्न जिल्लाका नागरिकको उपस्थिति हुरी प्रभावित गाउमा बाक्लै देखिन्छ । तर राहत वितरण प्रक्रियालाई ब्यवस्थापन गर्न नसक्दा पीडितले राहतको महसुस गर्न नसकेको उनले बताईन् ।
गाउमा आउने राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्ने ब्यवस्था मिलाउन नसक्दा वास्तविक पीडित भन्दा राहत अन्यको हातमा पुगिरहेको स्थानियको भनाई छ । वस्तीको बिचमा गाडीबाटै राहत वितरण गरिने गरिएको छ । उक्त राहत लिन स्थानियको भिड् समेत लाग्ने गरेको छ । भिडमा हुरीबाट घरविहिन बन्न पुगेको पीडित छुट्याउन सकिने अवस्था नरहेको र जो कोहीले पनि लैजाने गरेको स्थानिय बताउछन् ।
पीडितले राहतको नाममा चाउचाउ, चिउरा, जुस, पानी बाहेक पाउन सकेका छैनन् । केही संघसंस्थाले खानाको ब्यवस्था गरेका छन् । तर सबैले खाना नपाएको स्थिती छ । नियमित खाना खुवाउन संघसंस्थालाई समेत चुनौती देखिन्छ । केही संघसंस्थाले झुल वितरण गरेका छन् । तर झुल अड्काउने ठाउँ पनि पीडितले भेटेका छैनन् । घर भत्एिकाले कतिपयले आफ्नो कपडा, चप्पल समेत फेला पार्न सकेका छैनन् ।


