तीर्थ नेपाल
चितवन समाचारडटकम, १३ चैत ।
भरतपुर महानगरपालिकामा शहरी पूर्वाधार बिकास महाशाखा अन्तरगत रहने प्राविधिक जनशक्तिको अभाव भएको छ । यस महाशाखामा ईन्जिनीयर, सव ईन्जिनीयर र सहायक सव ईन्जिनीयर रहन्छन् ।
शाखाका प्रमुख डिभिजनल ईन्जिनीयर सहित एकसयजनाको दरवन्दी रहेपनि हाल ३० जनामात्रै काममा खटिएका छन् । शाखा प्रमुख डिभिजनल इन्जिनीयर पनि छैेनन् ।
चितवन समाचारडटकम संग कुराकानी गर्दै महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले लोकसेवा मार्फत प्रदेश सरकारले स्थानीय तहमा पदपुर्ती गर्ने अधिकार पाएकाले सम्वन्धित निकायमा ताकेता भईरहेको बताउनुभयो । आवश्यक संख्यामा ईन्जिनीयरहरु नहुँदा समस्या परेको सुवेदीले बताउनुभयो । “सेवाग्राहीलाई प्रत्यक्ष मर्का पुगेको हामीले बुझेका छौं , भएकै जनशक्तिलाई धेरै भन्दा धेरै सेवामा खटिन प्रेरित गरेका छौं, थप पदपुर्तीको लागी पनि पहल भैरहेको छ”–सुवेदीले भन्नुभयो ।
भरतपुर महानगरपालिका कार्यालयमा एक जना डिभिजनल ईन्जिनीयर, सातजना ईन्जिनीयर, पाँचजना सव ईन्जिनीयर, प्रतयेक वडामा एक जना ईन्जिनीयर , एकजना सव ईन्जिनीयर र एकजना सहायक सव ईन्जिनीयरको दरवन्दी छ । यी सबैको संख्या जोड्दा एकसय जना हुन आँउछ ।
तर, हाल महानगरपालिका कार्यालयमा डिई वाहेक सात जना ईन्जिनीयर, पाँचजना सव ईन्जिनीयर, वडामा पाँचजना ईन्जिनीयर, १३ जना सव ईन्जिनीयर खटिएका छन् । काममा रहेकाहरुको संख्या ३० जना रहेको छ ।
सडक, सतहढल निर्माण, खानेपानी, भवन निर्माण, सिंचाई, पार्क निर्माण लगायतका पूर्वाधार निर्माणमा यो प्राविधिक जनशक्ति खटिनुपर्ने हुन्छ । यी सबै निर्माण कार्यमा सर्बे, डिजाईन, स्टिमेट, अनुगमन, मुल्याङ्कन र कार्यसम्पादन प्रतिवेदन यही जनशक्तिले तयार पार्नुपर्दछ ।
तर, आवश्यक्ता भन्दा अत्यन्त कम जनशक्ति भएकाले खटिएका कर्मचारीलाई त कामको चाप छदैछ, उपभोक्ता एवम् सेवाग्राही जनता मारमा परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर १२ त्रिवेणी टोलमा निर्माण चलिरहेको सतह ढल निर्माण उपभोक्त समितिका अध्यक्ष तारापति शर्माले पर्याप्त ईन्जिनीयर नहुदाँ सबै उपभोक्ताले समस्या वेहोरिरहेको गुनासो गर्नुभयो । “हामी एक वा दुई दिनमा सक्नुपर्ने कामलाई हप्तौ लगाएर गर्न बाध्य भएका छौं, ईन्जिनीयर भेट्न गयो, आज भोली भन्दा भन्दै धेरै दिन कुर्न पर्ने अवस्था रहेछ” शर्माले भन्नुभयो । शर्मा र उनको समिति जस्तै समस्या बेहोर्नेहरुको सँख्या उलेख्य छ ।
भरतपुर महानगरपालिकामा कार्यरत ईन्जिनियर सुर्यप्रकाश लामाले जनशक्तिको अभावमा जनताको काम फटाफट गर्न नसकिएको बताउनुभयो ।“ हाम्रो संख्या थोरै छ, काम धेरै छ समस्या यही हो” उहाँले भन्नुभयो ।
हाल महानगरमा खटिएका ईन्जिनियरहरु स्थानीय स्वायत्त शासन ऐन अन्तरगत नियुक्त भएका थिए । उनीहरुलाई तत्कालिन नगरपालिकाले नै नियुक्त गरेको थियो । तर, अहिले राज्यको नयाँ पुनरसंरचना पछि यस किसिमको जनशक्ति लोकसेवा आयोग मार्फत प्रदेश सरकारले पदपुर्ती गर्ने ब्यवस्था छ ।


