हेमराज रिमाल,
चितवन समाचारडटकम,
चितवन, १३ चैत :
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चितवनका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
आज बिहान मात्र २ जना कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिनुभयो । “ यस अघि ६ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको र आज पक्राउ परेका २ जनाको भने अनुसन्धान जारी छ ।” उहाँले भन्नुभयो,“ जहाँ भेटिछ त्यहिबाट पक्राउ गरिन्छ ।” चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधीलाई निस्तेज पार्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
पक्राउ परेका ४ जना माथी चितवन जिल्ला अदालतमा मुद्धा समेत दायर भएको छ ।
प्रहरी नायव उपरिक्षक शाहका अनुसार आगलागी,बम बिस्फोट तथा संगठित अपराध गरेको अभियोगमा मुद्धा दायर गरिएको हो । “एक जना मात्र अपराधमा संलग्न हुँदा सामान्य मुद्धा दायर हुने तर ३ वा सो भन्दा बढि व्यक्ती मिलेर घटना गरेका छन् भने संगठित अपराध ऐन अन्तर्गत मुद्धा दर्ता हुन्छ ।” उहाँले भन्नुभयो,“ उनिहरुलाई ५० प्रतिशत सम्म थप सजाय हुन गई न्युनतम १० वर्ष सम्म जेल चलानको दण्ड हुन सक्छ ।” पक्राउ परेका चारै जनालाई कानुनी कारबार्ही अगाडी बढाईएको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा विप्लव नेतृत्वको नेकपा चितवनको सचिवालय सदस्य राम कुमार तिमिल्सेना, जिल्ला कमिटी सदस्य विरु तामाङ्ग, राष्ट्रिय नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, विरेन्द्र वहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष विक्रम न्यौपाने, क्रान्तिकारी यातायात व्यवसायी समितीका जिल्ला अध्यक्ष मित्र के.सी, नेकपा जिल्ला सदस्य जय वहादुर कुवंर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज पक्राउ परेका नाम भने प्रहरीले खुलाएको छैन । २ जनाको भने अनुसन्धान जारी रहेकाले नाम नभन्ने जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डिसपी दुर्गा राज रेग्मीले बताउनुभयो ।
प्रहरीले निगरानी बढाएसँगै हिजो मात्रै विप्लव समूहका जिल्ला समिति सदस्य मधु क्षेत्रीसहित चार जनाले सामुहिक राजिनामा दिएका थिए ।


