भरतपुरका एकजना दानवीरले अस्पताललाई दिए डेढ करोड, धानखाने खेत बेचेर दान

तीर्थ नेपाल ,
चितवन समाचारडटकम , १३ चैत ।

नेत्रज्योती संघ चितवनद्धारा सञ्चालित आँखा अस्पताललाई भरतपुर महानगरपालिका वडानम्वर १२ निवासी भिमराज पाठकले डेढ करोड रुपैयाँ नगद दान गर्नुभएको छ ।

पाठकले केही समय अघि नगद २० लाख र आज एक समारोहका बिच अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई एक करोड तिस लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

आँखा अस्पतालले शुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवालाई सञ्चालन गर्न पाठक दम्पती भिमराज र उहाँकी धर्मपत्नी उषामाया पाठकका तर्फवाट अस्पताललाई सहयोग प्रदान गरिएको हो ।

७३ बर्षिय दानवीर भिमराज पाठक आफैँमा क्यान्सर जस्तो गम्भिर रोग संग जुधिरहनुभएको छ । मुखको क्यान्सर भएपछि ८ बर्ष अघि शल्यक्रिया गरी मुख भित्रको आधा भाग काटेर फालिएको छ ।

ठोस खानेकुरा खान नसक्ने पाठकले झोल बनाएर खाने गर्नुभएको छ । श्रीमती उषामायालाई पनि क्यान्सरको आशंकामा दील्लीमा उपचार गराइरहनुभएको छ । २०१७ सालमा धादिङबाट बसाईसराई गरी चितवन आउनुभएको उहाँले एकजना छोरा र बुहारीलाई अंशवण्डा गरी बचेको राप्ती नगरपालिकाको १० कठ्ठा जमिन बेचेर अस्पताललाई चन्दा दान गर्नुभएको हो ।

मुखको क्यान्सरका कारण भिमराज कुनै प्रतिक्रिया दिन सक्नुहुन्न । तर, चेक हस्तान्तरण कार्यक्रममा उहाँ प्रफुल्ल देखिनुभएको थियो । “उहाँले धान खाने आफ्नो सबै जमिन बेचेर दान गर्नुभयो, उहाँले अत्यन्तै खुसी मान्नुभएको छ ।” अस्पतालको अध्यक्ष धरेलले चितवन समाचारडटकम संग भन्नुभयो ।
यो दान रकमले आँखा अस्पतालले शुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवालाई ब्यबस्थित गरिने अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष तेजेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो । अस्पतालले हाल सम्म ५५ जनाको प्रत्यारोपण गरेको छ । हाल यहाँ दान गरिएको आँखा संकलन गरी प्रविधिको अभावमा त्यसलाई काठमाण्डौ स्थित तिलगंगा पठाउने गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट