कालिकाद्वारा थप ३ करोडको पुरक बजेट स्विकृत : अस्पताल र भवन निर्माण प्राथमिकतामा

चितवन समाचार डटकम, १० चैत ।


चितवनको कालिका नगरपालिकाले आज भएको नगरसभाको बैठकवाट थप ३ करोडको पुरक बजेट स्विकृत गरेको छ । चालु आर्थिक बर्षको कुल बजेट ५८ करोड ६ लाख ९५ हजारमा ३ करोड रकम थप गरिएको हो । अस्पताल सञ्चालन, प्रशासनिक भवन निर्माण र वडा कार्यलयहरुको भवन निर्माणमा नगरपालिकाका तर्फवाट तत्काल केही रकम प्रवन्ध गर्नुपर्ने आवश्यक्ताले पुरक बजेट ल्याइएको प्रमुख नगरप्रमुख खुमनारायण श्रेष्ठले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरी प्रदेश सरकारले अस्पतालका रुपमा स्विकृति गरीसकेको छ । यसको प्राविधिक ब्यवस्थापनको लागी ५० लाख रकम छुट्टाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो । अस्पतालमा हाल ५ जना चिकित्सक सहित २२ जना कर्मचारी रहेका छन् ।
त्यसैगरी नगरपालिकाको प्रशासकिय भवन निर्माणको थालनी गर्न पुरक बजेट मध्ये २ करोड छुट्याएको छ । यसमा जिल्ला समन्वय समितिवाट प्राप्त २ करोड थपेर चार करोडमा भवन निर्माणको थालनि गर्न लागिएको नगरपालिकाले जनाएको छ । कुल १० करोडको लागतमा वडा नम्वर ६ मा रहेको रेडक्रसग्रामको डेढ विगाह जमिनमा नगरपालिकाले भवन बनाउदैछ । करिब दुई बर्षमा भवनको निर्माण गर्ने लक्ष्य राखिएको वडा नम्वर ६ का अध्यक्ष बिनोद रेग्मीले बताउनुभयो । नगर सभाको बैठकले वडा नम्वर १०, ११ र २ को कार्यलय भवन बनाउन प्रत्येक वडालाई १५ लाख छु्ट्याएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । ती वडाहरुलाई जिल्ला समन्वय समितिवाट प्राप्त ३५ र नगरपालिकावाट १५ लाख गरी ५० लाख रुपैयाँ उपलब्ध गराउन लागिएको छ ।
नगरसभाको बैठकले चालु आर्थिक बर्षको मध्यावधि समेत समाप्त भईसेकेको अवस्थामा विनियोजन भएका केही आयोजनाहरुको शिर्षकमा बजेट खर्च नहुने अवस्था देखिएको र केही अत्यावश्यक कार्य गर्नै पर्ने देखिएको भन्दै त्यस्ता रकम नयाँ कार्यमा खर्च गर्न पनि स्वीकृति दिएको छ । त्यस्ता प्रकारका शीर्षकका करिव ६० लाख रुपैयाँ भौतिक निर्माणमा खर्च गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो ।
नगरसभा भवनमा सभाकक्ष निर्माण गर्न ४० लाख बजेट ब्यवस्था गरिएको छ । वडा नम्वर २ मा रहेको नगरसभा भवनमा सभाकक्ष नहुँदा बैठक तथा भेला आयोजना गर्न कठिनाई हुँदै आएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख कमला भट्टराई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु गरी ६२ जना सहभागी भएका थिए ।

शेयर गरौ

ताजा अपडेट