ठोरी , ८ चैत :
पर्यटकका लागि सुविधासम्पन्न होटल नभएको ठोरीमा पछिल्लो समय घरबास (होमस्टे) निर्माण हुने क्रम बढेको छ ।
पाँच वर्ष अघिसम्म यहाँ होमस्टे थिएन । अहिले तामाङ, गुरुङ र मगर जातिको आफ्नो संस्कृतिअनुसार होमस्टेको निर्माण भइरहेको अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र हालसम्म ५० बढी होमस्टे रहेका छन् । दैनिक २०० पर्यटकलाई होमस्टेमा राख्न सकिन्छ । गाउँमा रहेका सामुदायिक होमस्टे अर्थात् घरबास कार्यक्रम थालिएपछि स्थानीय त्यसबाट प्रत्यक्ष लाभ लिन थालेका छन् । होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
अध्यक्ष श्रेष्ठ ठोरी गाउँपालिका–५ मा तामाङ समुदायले स्थानीयवासीको श्रमदानमा ‘कल्चर हाउस’ निर्माण भइरहेको जानकारी दिनुभयो । सो ‘कल्चर हाउस’ को शौचालय निर्माण गर्न र रङ लगाउन गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ ।
ठोरी गाँउपालिका–१ स्थित मगर सामुदायिक होमस्टेकी सञ्चालिका सुशीला मगरले घरमै बसेर राम्रो आम्दानी गर्न सकेको बताउनुभयो । बिहान बेलुकी होमस्टेमा उपयोगविहीन समयको राम्रो सदुपयोग गर्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो । (रासस)