चितवन, ७ चैत :
रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदैछ ।
फागुन पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा हिजो मनाईएपनि तराईका जिल्लामा भने आज मात्र मनाउन लागिएको हो ।
होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व समेत मानिएको होली एक प्राचीन पर्व हो ।
पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । होरी, होली, फगुआ र फागुका नामले समेत मनाइने यो प्रेम र स्नेहको पर्व पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।