चितवन समाचारडटकम
६ चैत । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले समितिले गौरवका आयोजनाका काम प्रभावकारी बनाउन निरन्तर अनुगमन र खवरदारी गरिरहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा आज भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति रावलले धेरै आयोजनाहरुमा आशातित प्रगति नदेखिएको बताउनुभयो । ‘देशमा २१ वटा यस्ता आयोजना छन्, अधिकांसमा काममा ढिलासुस्ती देखिएका छन् । १४ सदस्यीय समितिका सबै सदस्यलाई आयोजनाको निरीक्षण, अनुगमनको जिम्मा बाडेर काम भईरहेको छ ’ सभापति रावलले भन्नुभयो ।
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, भेरी बंबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम तिब्र गतिमा अघि बढेको रावलले जानकारी दिनुभयो । समितिले अनुगमन पछि निर्माणाधीन निजगढ अन्तरराष्ट्रिय विमानस्थलका विषयमा देखिएका समस्या समाधान गर्न वन मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई र मेलम्ची खानेपानीका सम्बन्धमा पनि सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गराईएको सभापति रावलले जानकारी दिनुभयो ।
समितिले भूकम्पपछिको पुनर्निर्माणलाई तिब्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिईएको रावलले बताउनुभयो । सरकारी कर्मचारीले उठाएका मुद्दामापनि समस्या समाधान गर्न समन्वयको भूमिका समितिले खेलेको रावलको भनाइ थियो । यसै बिचमा तीनै तहका प्रतिनिधि राखेर समितिले प्रदेशहरुमा तहगत समस्या र समाधानको विषयमा अन्तरक्रिया चलाएको छ । योजना, बजेट, अधिकार, स्रोत साधनको व्यवस्थापन, कानुन निर्माण जस्ता विषयमा केन्द्र र स्थानीय बिच देखिएका समस्या आगामी आर्थिक वर्षबाट सुल्झाउन समिति सरकारको ध्यानाकर्षण गराएको छ ।