युवालाई स्वरोजगार बनाउने सरकारको अभियान , भरतपुरका चारसय साठीजना तालिममा

चितवन समाचार डटकम
चितवन ३ चैत । आत्मनिर्भर भइ रोजगार सिर्जना गर्ने गरी चितवनमा आजबाट चारसय ६० जनालाई सिपमुलक रोजगार तालिम शुरु भएको छ ।
सिपयुक्त नेपाल समृद्ध नेपाली भन्ने नाराका साथ सातै प्रदेशमा नेपाल सरकारले ४२ हजारजनालाई यस्तो तालिम दिदैछ । त्यस अन्र्तगत चितवनको भरतपुर महानगरपालिका भित्रका २३ वटा वडाहरुमा यस्तो तालिम सञ्चालन भएको हो । सामान्य लेखपढ गरेकादेखि प्लसटुसम्म अध्ययन गरेकाहरुलाई सिपयुक्त तालिम दिन थालिएको सिटिइभिटी प्रदेश नं. ३ का उपनिर्देशक राजेन्द्र चौधरीले जानकारी दिनु भयो ।
अबको नेपाल भनेको सिपयुक्त जनशक्ति हो उहाले भन्नु भयो ‘यदी कुनै व्यक्तिमा सिप छैन भने उसले आफ्नो जीवन चलाउन समस्या पर्दछ, त्यसैले अवको जनशक्तिलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्य सरकारको रहेको छ ।’ प्रदेश तीन अन्र्तगत विभिन्न जिल्लाहरुमा यस्ता तालिम आयोजना गरिएको छ । तालिमको संयोजन सिटिइभिटीले गर्ने छ भने स्थानीय तहमा त्यहाँको सरकारले समन्वय गर्ने छ ।
भरतपुर महानगरपालिकामा अहिले प्रारम्भिक चरणमा यस्तो तालिमको आयोजना गरिएको हो । यो तालिम नभइ एउटा कोर्षको रुपमा हामीले अगाडि बढाएका छौ । एक पटक तालिम लिएपछि यसको अनुगमन, निरीक्षण र थप अर्को चरणको तालिम प्रदान गरेर दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्य रहेको उपनिर्देशक चौधरीले जानकारी दिनुभयो । कार्यक्रमलाई भरतपुर महानगरपालिकाले समन्वय गरेको छ ।
महानगरमा हुने तालिमको लागि स्कुल अफ हेल्थ साइन्स भरतपुरले उत्प्रेरणा दिने छ । तालिम दिनको लागि जनशक्ति दिने र समन्वयकारी भूमिकामा आफ्नो सस्था रहेको स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्रमुख रमणकुमार मेहताले जानकारी दिनु भयो । बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उहाले बताउनु भयो । एक प्रदेश ६ हजार जनालाई यस्तो तालिम दिने तयारी रहेको छ । तालिममा लाइवेरी, मन्टेश्वरी, व्युटिसियन, वेमौसमी तरकारी, इलेक्ट्रिसियन, मेकानिजम लगायतको रहेको छ । तालिम निःशुल्क लिन पाइने छ । ३ सय ९० घण्टा सञ्चालन हुने तालिम सम्वन्धीत वडा कार्यालयहरुमा चल्ने छ । समुदायको मागमा अधारित तालिम भएकाले यसको प्रभावकारिता वढेर जाने स्कुल अफ हेल्थ साइन्सका प्राविधिक अधिकृत निरज भट्टले जानकारी दिनु भयो ।


तालिमको उद्घाटन
समुदायको मागमा आधारित सिपयुक्त तालिमको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. ९ मा मन्टेश्वरी तालिमको उद्घाटन गरी महानगरको २३ वटै वडाका कार्यक्रमको उद्घाटन भएको छ । तालिमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भयो ।
उद्घाटन गर्दै उहाले सिप भएको जनशक्तिले मात्रै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनु भयो । आजको युग प्रतिश्पर्धाको भएकाले सिप भएका व्यक्ति मात्रै श्रम बजारमा खपत हुने बताउनु भयो । महानगरपालिकाले आउदा दिनहरुमा यस्ता रोजगार मुलक सिपको कार्यक्रमलाई प्राथमिकतामा राख्ने जानकारी दिनु भयो ।
समाजमा पछाडि पारिएका, विभिन्न कारणले रोजगारबाट बन्चित भएका वर्गहरुलाई समेटेर यस्ता कार्यक्रम ल्याउने बताउनु भयो । यस्तै गरी महिलाहरुको लागि मात्रै महिला पोलिटेक्निक इन्ष्टिच्युट सञ्चालनको तयारीमा रहेको जानकारी दिनु भयो । पश्चिम चितनवको जगतपुरमा महिला पोलिटेक्निक सञ्चालनको तयारीमा रहेको उहाले बताउनु भयो । आउदो साउन महिनाबाट सञ्चालन गर्ने गरी अगाडि वढेको बताउनु भयो ।
कार्यक्रममा सिटिइभिटी प्रदेश ३ का उपनिर्देशक राजेन्द्र चौधरी, स्कुल अफ हेल्थ साइन्सका प्रमुख रमणकुमार मेहता, समाजसेवी विजय विश्वकर्मा, शैक्षिक व्यक्ति श्रीप्रसाद दवाडीलगायतले सिपमुलक तालिमको महत्वको विषयमा बोल्नु भएको थियो । कार्यक्रम ९ नं. वडा कार्यालयका अध्यक्ष यमलाल कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट