चितवन समाचार डटकम
चितवन २ चैत । देवघाट क्षेत्र विकास समितिले मुख्य स्थानहरुमा सीसी क्यामरा राखेर निगरानी गर्न थालेको छ ।
सुरक्षाको विषयलाई ध्यान दिएर क्षेत्र विकास समितिले आफ्नो क्षेत्रका मुख्य स्थानहरुलाई सीसी क्यामराको मध्यमबाट निगरानी गर्न थालेको हो । पहिलो चरणमा समितिको कार्यालय, समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रम लगायतमा सीसी क्यामरा जडान गरिएको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो ।
सुरक्षाको हिसाबले सीसी क्यामरा अत्यन्त आवश्यक ठानेर राखिएको उहाले बताउनु भयो । समितिले अब देवघाट प्रवेश गर्ने चितवन र तनहु जोड्ने झोलुङगे पुलको दुवै तर्फ, चितवन तर्फको बसपार्क, दाहसस्कार गर्न दाउरा संकलन गर्ने स्थान, अन्य मुख्य स्थानहरुमा सीसी क्यामरा राख्न लागिएको घिमिरेले जानकारी दिनु भयो ।
‘कार्यालयलाई व्यवस्थित पार्न पनि क्यामराको जरुरी भएको हामीले महसुुस ग¥यौ’ उहाले भन्नु भयो ‘पहिलो चरणमा कार्यालय र आश्रममा राखेका छौ ।’ क्यामरा जडान गरेपछि समयमा कर्मचारी आउने, वृद्धाश्रममा वस्ने वृद्धवृद्धाहरुको सामग्री सुरक्षा हुने, आउने अतिथिले दिने सामग्रीको अभिलेख राख्न सहज भएको उहाले जानकारी दिनु भयो । दोस्रो चरणमा झोलुङगे पुल, वसपार्क र अन्य मुख्य स्थानमा क्यामरा राख्ने गरी तयारी भएको छ । अहिले जडान गरिएको सीसी क्यामराको लागि युवा व्यवसायी सुजन ओझाले सहयोग गर्नु भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी देवघाट क्षेत्र विकास समितिको हालै सम्पन्न बैठकले देवघाटको मुख्य स्थानहरुमा राति ९ बजेदेखि विहान ५ बजेसम्म प्रहरी परिचालन गर्ने निर्णय समेत गरिएको छ । राति हुने असुरक्षालाई ध्यान दिएर यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनु भयो । देवघाटधामलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउनको लागि समितिले काम गर्दै आएको जनाएको छ । धाममा आउने भक्तजनहरुले निर्धक्कसंग आफ्ना गतिविधि गर्न, ल्याएका सामग्री सुरक्षित हुनको लागि सुरक्षालाई विशेष ध्यान दिएको समितिको भनाइ छ ।
