रौतहट २९ असार । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन केन्द्रमा सोमबार मध्यान्ह १२ बजेको मापनअनुसार बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै ३.९० मिटर मापन भएको छ ।
सोमबार अपरान्ह ४ बजे भने जलसतह घटेर ३.३० मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमाापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले गोरखापत्र अनलाइनसँग बताउनुभयो ।
सोमबार दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको हो । हालसम्म बाढीले खतराको तह पार नगरे पनि सोमबार साँझतिबारट काठमाडौँलगायत पहाडी क्षेत्रतिर पुनः पानी परिरहेको हुँदा जुनसुकै बेला फेरि बाढी बढ्न सक्ने भएकाले महेन्द्र राजमार्गदेखि दक्षिणतर्फको तटीय क्षेत्रका वासिन्दालाई सचेत र सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सर्लाहीमा सोमबार दिउँसोदेखि पानी पर्न भने रोकिएको छ । तर मौसम धाम्मधुम्म भइ पुनः वर्षाको सम्भावना देखिन्छ । यहाँ पानी परेर शित्तल हुँदा स्थानीयले गर्मीबाट भने तत्काललाई राहत भएको छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जिल्लामा सोमबार साँझसम्म कहीँकतै डुबान तथा कटानको समस्या नदेखिएको जानकारी दिनुभयो । मौसम प्रतिकूल रहेको र वर्षा हुनेक्रम जारी नै रहेकाले सुरक्षा निकाय ‘अलर्ट’ अवस्थामै रहेको सहायक सिडिओ घिमिरेले गोरखापत्रसँग बताउनुभयो ।
बाढी तथा डुबानको समस्या आइहाले तत्काल परिचालन हुन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तयारी अवस्थामा रहेका उहाँले बताउनुभयो । विपत व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग उपलब्ध स्रोत, साधन र सामग्रीसहित विपत्मा परिचालन हुन तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
बागमती, लखन्देही र मनुष्माराखोलामा बाढी आउनासाथ जिल्लाको दक्षिणवर्ती बरहथवा, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, विष्णु, कौडेना लगायतका आधा दर्जन बढी पालिकामा कटान तथा डुबानको समस्या सुरु हुने गरेको छ । बर्खायाम सुरु भइ झरी पर्न थालेसँगै बाढी तथा डुबानको समस्याबाट वर्सेनि पीडित हुँदैआएका स्थानीय चिन्तित बन्न थालेका छन् ।

