भानु स्मृति दिवसमा चित्रकला प्रतियोगिता

भरतपुर, असार २९ ।

२१३औँ भानु स्मृति दिवसको अवसरमा चितवनमा आयोजित अन्तरविद्यालय चित्रकला प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको आकर्षक चित्र कोर्दै आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत जेनिशा सारु मगर प्रथम भइन्। त्यसैगरी चितवन माध्यमिक विद्यालयका कक्षा ९ का निश्चल खड्का दोस्रो तथा बालकुमारी माध्यमिक विद्यालय, नारायणगढका कक्षा ९ मा अध्ययनरत एन्जल गुरुङ तेस्रो भए। लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत सिमरन कुमारी शाहले सान्त्वना स्थान हासिल गरिन्।
विजेताहरूलाई प्रथम पुरस्कारस्वरूप रु. १,५००, दोस्रोलाई रु. १,०००, तेस्रोलाई रु. ७०० तथा सान्त्वना पुरस्कारस्वरूप रु. ५०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र, रु. २०० नगद तथा खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण चित्रकला सामग्री आचार्य बन्धु समाजले उपलब्ध गराएको थियो।
आचार्य बन्धु समाज चितवनका जिल्ला अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको संयोजन रामचन्द्र आचार्यले गर्नुभएको थियो भने प्रतियोगिताको निर्णायक संयोजकका रूपमा ललितकला विज्ञ प्रकाश थापाले भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आदिकवि भानुभक्त आचार्यप्रतिको सम्मान, नेपाली भाषा–साहित्यप्रतिको अनुराग तथा चित्रकलाप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

शेयर गरौ

ताजा अपडेट