अलकत्रा आएपछि मुग्लिन–मलेखु सडक विस्तारले गति लियो

 

चितवन, २८ असार ।
पृथ्वी राजमार्ग अन्तर्गत नागढुङगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा पर्ने मुग्लिन–मलेखु सडक विस्तारको कामले पुनः गति लिएको छ ।
केही समय अलकत्रा (बिटुमिन) अभावका कारण रोकिएको कालोपत्रे कार्य आवश्यक सामग्री उपलब्ध भएपछि पुनः कालोपत्रे सुरु भएको हो । आयोजना कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले अहिले अलकत्रा आएपछि काम सुरु भएको बताउनुभयो । मिश्रले भन्नुभयो “ मूल्यवृद्धि पछि कालोपत्रेको काम रोकिएको थियो, अहिले पुन सुरु भएको छ । अहिले धमाधम काम भइराखेको छ । ” उहाँका अनुसार हालसम्म सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ ।
मिश्रका अनुसार आयोजनाका लागि आवश्यक ३० टन अलकत्रा उपलब्ध भइसकेको छ। त्यससँगै हुग्दीदेखि जवाङ खोलासम्मको सडकमा कालोपत्रेको काम अहिले भइराखेको छ । प्राप्त भएको ३० टन अलकत्राबाट अहिले काम भइराखेको छ । असारको दोस्रो हप्ताबाट सुरु भएको कालोपत्रे गर्ने कार्य अहिले चलिराखेको बताउनुभयो ।
आयोजनाले तत्काल हुग्दी क्षेत्रमा करिब ७०० मिटर सडक कालोपत्रे गर्ने तथा असार महिनाभित्र थप तीन किलोमिटर सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसअघि यस सडकखण्डमा १३ किलोमिटर सडकमा पहिलो तह (डीबीएम) को कालोपत्रे सम्पन्न भइसकेको छ ।
मुग्लिन–मलेखु सडकखण्डको कुल लम्बाइ ३८ दशमलव ८६ किलोमिटर रहेको छ । विस्तारकार्य लामो समयदेखि चलेपनि तोकिएको समयमा काम हुन नसक्दा यो क्षेत्रमा प्रगती सुस्त भएको छ ।
सडक विस्तारसँगै पुल निर्माणको काम पनि अगाडि वढेको आयोजना कार्यालयले जानकारी दिएको छ । यस खण्डमा निर्माण भइरहेका छ वटा नयाँ पुलमध्ये चार वटाको निर्माण कार्य सम्पन्न भएको सूचना अधिकारी मिश्रले बताउनुभयो । वारवाङ खोला, मौवा खोला, खटौटी खोला र गोमती खोलामा निर्माणाधीन पुलको सम्पन्न भएर यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो । बाँकी दुई पुल हुग्दी र चरौदी खोलको पुल निर्माण कार्य जारी भएको उहाले बताउनुभयो ।
शर्मा–जेडआइसिजी जेभीले करिब रु. ४ अर्ब ८० करोड ५९ लाख ७४ हजार ९ सय १२ रुपियाँ ६४ पैसामा ठेक्का लिएको हो । २०७९ मङ्सिर ७ गते ठेक्का सम्झौता भएको यो काम एक पटक म्याद थप भइसकेको छ । २०८२ पुस १३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा ढिलाइ भएपछि २०८३ असारसम्म म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुन म्याद थप गर्ने तयारी रहेको छ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको छ ।
आयोजना कार्यालयका अनुसार अब सामग्री आपूर्तिको समस्या समाधान भएकाले निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ । असार महिनाभित्र थप कालोपत्रे सम्पन्न गरेर निर्माणधिन पुलको काम र सडकको बाँकी कामलाई निरन्तरता दिने सूचना अधिकारी मिश्रले बताउनुभयो । नाला, रिटेनिङ वाल, एप्रोच रोड तथा अन्य संरचनाको निर्माणलाई समेत समानान्तर रूपमा अघि बढाइने जनाइएको छ ।
काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य नाकाका रूपमा रहेको मुग्लिन–मलेखु सडकखण्ड लामो समयदेखि साँघुरो सडक, ट्राफिक जाम र दुर्घटनाको जोखिमका कारण चर्चामा रहँदै आएको छ । सडक चार लेन मापदण्ड अनुसार स्तरोन्नति सम्पन्न भएपछि सवारी आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने तथा यात्राको समयसमेत उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट