भरतपुर अस्पतालमा क्यूआर टिकट र आइसियु प्रतीक्षा प्रणाली सुरु

चितवन, २८ असार ।
निजी अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको सेवा बन्द हुदा बिरामीको चाप उल्लेख्य रूपमा बढेपछि भरतपुर अस्पतालले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सूचना प्रविधिमा आधारित नयाँ प्रणाली लागू गरेको छ ।
अस्पतालले क्यूआर कोडमार्फत ओपीडी टिकट काट्ने व्यवस्था सुरु गर्नुका साथै आइसियु सेवामा प्रतीक्षारत बिरामीको विवरण विद्युतीय सूचना पाटी (डिस्प्ले बोर्ड) मा सार्वजनिक गर्ने र शय्या उपलब्ध भएपछि मोबाइलमा सन्देश (एसएमएस) पठाउने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउन थालेपछि जनशक्तिले मात्रै सेवा व्यवस्थापन गर्न कठिन भएपछि प्रविधिको प्रयोग बढाइएको हो । उहाँले हाल क्यूआरबाट टिकट काट्ने एउटा मेसिन सञ्चालनमा ल्याइएको र आवश्यकताअनुसार आगामी दिनमा यसको संख्या बढाउँदै लैजाने जानकारी दिनुभयो ।
भरतपुर अस्पतालमा अहिले दैनिक करिब तीन हजार चार सय बिरामीले ओपीडी टिकट काट्ने गरेका छन् । अत्यधिक चापका कारण सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि प्रविधिमार्फत सेवा छिटो र सहज बनाउने प्रयास गरिएको डा. बगालेले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालले चिकित्सकको सेवा समयसमेत परिवर्तन गरेको छ । पहिले बिहान बिरामी हेरेर दिउँसो फर्किने अभ्यास अन्त्य गर्दै अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर ओपीडी सेवा सञ्चालन गरिएको छ। यस व्यवस्थापछि बिरामीले एकै दिनमा चिकित्सकको परामर्श, आवश्यक प्रयोगशाला परीक्षण, रिपोर्ट प्राप्त गरी पुनः चिकित्सकलाई देखाएर उपचार पूरा गर्न सक्ने अवस्था बनेको छ। यसबाट बिरामीको गुनासोसमेत घटेको अस्पतालको दाबी छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट उपचारका लागि आउनुभएकी विमला भट्टराईले एकै दिनमा परीक्षण र उपचार सम्पन्न हुने अपेक्षा नगरेको बताउँदै नयाँ व्यवस्थाले सहजता भएको प्रतिक्रिया दिनुभयो। अन्य बिरामीले पनि दिनभर चिकित्सक उपलब्ध हुने व्यवस्थाप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
अस्पतालले बिलिङ तथा शुल्क तिर्ने काउन्टरको संख्या पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ । यसैबीच, सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न अस्पतालले नयाँ प्रतीक्षा व्यवस्थापन प्रणाली लागू गरेको छ । अब आइसियुमा भर्ना हुन प्रतीक्षारत बिरामीको विवरण अस्पतालको विद्युतीय सूचना पाटीमा देखाइनेछ भने शय्या उपलब्ध हुनेबित्तिकै सम्बन्धित बिरामी वा आफन्तलाई मोबाइलमा एसएमएसमार्फत जानकारी गराइनेछ ।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले आइसियुजस्तो संवेदनशील सेवामा पारदर्शिता र प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको बताउनुभयो । उहाँका अनुसार आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिनेछ । यसले शय्या उपलब्धताको जानकारी सहज रूपमा प्राप्त हुने, चिकित्सकीय प्राथमिकता अनुसार सेवा प्रदान गर्न तथा सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास अस्पतालको छ ।
छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फ पुरानो एमआइसियु र एआइसियुमा १८ शय्या, नयाँ आइसियु तथा सिसियुमा १८ शय्या र बर्न वार्डमा दुई शय्या गरी कुल ३८ आइसियु शय्या सञ्चालनमा छन । बालबालिका तथा नवजात शिशुका लागि थप ३५ आइसियु शय्या उपलब्ध छन् भने आकस्मिक विभागमा ५० शय्या सञ्चालनमा रहेका छन् । अस्पतालले विमा र अन्य शुल्क तिर्ने काउटर थप गरेर लैजाने तयारी गरेको छ ।

शेयर गरौ

ताजा अपडेट