भरतपुरमा टोयोटाको सेल्स–सर्भिस केन्द्र सञ्चालन

 

चितवन । नेपालमा गुणस्तरीय र भरपर्दो सवारीसाधनको माग बढिरहेका बेला टोयोटाले चितवनको भरतपुरमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधासहित आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ।

नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै भरतपुरमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

शुक्रबार आयोजित कार्यक्रममा नयाँ शोरुमको उद्घाटन गर्दै वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिजका अध्यक्ष सुरज वैद्यले गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वसनीयताका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सेवा सञ्जालको विस्तार ग्राहकप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धताको निरन्तरता हो। चितवनमा अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध हुनु यस क्षेत्रका उपभोक्ताका लागि महत्त्वपूर्ण उपलब्धि पनि हो।”

उहाँका अनुसार अब चितवनका ग्राहकले सवारी खरिद, नियमित मर्मत तथा स्पेयर पार्ट्सका लागि राजधानी धाउनुपर्ने अवस्था रहने छैन। यसअघि चितवनमा टोयोटाको बिक्री केन्द्र रहे पनि नियमित मर्मत र स्पेयर पार्ट्सको पूर्ण सुविधा उपलब्ध थिएन।

कम्पनीका अनुसार नयाँ केन्द्रबाट ग्राहकले टोयोटाका नयाँ सवारी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा भरपर्दो स्पेयर पार्ट्स एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यसबाट चितवन, नवलपुर, मकवानपुरलगायत आसपासका जिल्लाका ग्राहकले छिटो, गुणस्तरीय र भरपर्दो सेवा पाउने विश्वास कम्पनीले लिएको छ।

कार्यक्रममा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्ला वर्षहरूमा चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारका रूपमा स्थापित भएको बताउनुभयो।

उहाँका अनुसार चितवन आर्थिक गतिविधिको प्रमुख केन्द्र बन्दै गएकाले यहाँ आधुनिक अटोमोबाइल सेवाको माग पनि तीव्र रूपमा बढिरहेको छ।

नेपालमा टोयोटा सन् १९६७ देखि युनाइटेड ट्रेडर्स सिन्डिकेट ९युटिएस० मार्फत बिक्री हुँदै आएको छ। यो नेपालमा सञ्चालनमा रहेका सबैभन्दा पुराना अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डमध्ये एक हो।

कम्पनीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा बिक्री भएका १५ हजार ८८७ यात्रुवाहक कारमध्ये १० हजार ५३८ वटा ९झण्डै ६६ प्रतिशत० एसयूभी रहेका छन्। टोयोटाका प्रमुख उत्पादन एसयूभी, पिकअप र हाइब्रिड सेग्मेन्टमा केन्द्रित रहेकाले नेपाली बजारमा यसको सम्भावना अझ बलियो रहेको अध्यक्ष पौडेलले बताउनुभयो।

उहाँका अनुसार टोयोटाले नेपालमा हाइब्रिड मोडललाई प्राथमिकतामा राख्दै इन्धन बचत र भरपर्दोपन खोज्ने ग्राहकलाई लक्षित गरेको छ।

शेयर गरौ

ताजा अपडेट