चितवन समाचार डटकम ।
भरतपुर महानगरपालिका वडा नं. ७ को कार्यालय नयाँ प्रशासनिक भवनबाट सञ्चालनमा आएको छ। वडा कार्यालयले २०८३ जेठ १८ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको हो।
वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेका अनुसार महानगरपालिकाको बजेटबाट निर्माण गरिएको उक्त भवनको कुल लागत २ करोड ५२ हजार ४०२ रुपैयाँ रहेको छ।
दुई तले तथा १८ कोठे सुविधासम्पन्न भवनको निर्माण सम्झौता २०८१ पुस १ गते गरिएको थियो। निर्धारित समयमै निर्माण सम्पन्न भएपछि वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेको अध्यक्ष काफ्लेले जानकारी दिए।
आकर्षक डिजाइनमा निर्माण गरिएको भवनले सेवाग्राहीलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्राप्त गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। आधुनिक संरचनासहितको भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ।
स्थानीयवासीले पनि नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्। नयाँ भवन सञ्चालनमा आएपछि वडा कार्यालयको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै सेवाग्राहीलाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।


