एमाले सचिव महेश बस्नेतकी पत्नी र शोभा पाठकको माइतीघरमा लडाइ

 

काठमाडौं । काठमाडौंको माइतीघरमा नेकपा (एमाले)का सचिव महेश बस्नेतकी पत्नी अम्बिका र महेशबाट पीडित भएको भन्दै माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकविच झडप भएको छ । शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए ।
सोही क्रममा महेश पत्नी अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो । हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई प्रहरीले हिरासतमा राखेको छ । झडपमा शोभा पाठक घाइते भएको जनाइएको छ । उनी ट्रमा सेन्टरमा उपचाररत छिन् । ट्रमाबाट स्टाटस लेख्दै पाठकले आफूमाथि महेश बस्नेतकी पत्नी र नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘म माइतीघर मण्डलामा बसिरहेको बेला महेश बस्नेतकी स्वास्नी र नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको छ । न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। मेरो ज्यान मार्ने आएका त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ।’ प्रहरीले भने पाठक अस्पतालबाट निस्केर जाहेरी दिएपश्चात् १० जनामाथि कारबाही अगाडि बढाइने बतायो । उनीहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

महेश बस्नेतको दाबी मेरी श्रीमतीले झ्यालबाट हेर्दा हातपात भयो

यता एमाले सचिव महेश बस्नेतले आफ्नी पत्नीमाथि माइतीघरमा हातपात भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आफू र परिवारमाथि भएको साइबर अपराधविरुद्ध उजुरी दिन व्यूरो जाने क्रममा घटना भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू, केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका छन् । उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।’

माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनको भनाइ छ । बस्नेतले लेखेका छन्, ‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन । पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन । सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।’

 

शेयर गरौ

ताजा अपडेट