पूर्ण शुल्कको कोटा खारेज गरी छात्रवृतिमा थप

शालिग्राम नेपाल ।
चितवन १३ वैशाख ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय स्कूल अफ हेल्थ साइन्स भरतपुरले पूर्ण छात्रवृतिको कोटा थप गरेको छ ।
धेरै विद्यार्थीले पूर्ण छात्रवृतिमा पढ्न पाउने अवसर प्रदान गर्न पूर्ण शुल्कको कोटामा पढ्दै आएको व्यवस्था खारेज गरेर त्यसलाई छात्रवृतिमा रुपान्तरण गरेको हो । प्राविधि शिक्षामा थप विद्यार्थीले अवसर प्राप्त गर्न सकियोस भन्दै पूर्ण शुल्कको कोटा हटाएर त्यसलाई पूर्ण छात्रवृतिमा पढ्न पाउने सङ्ख्यामा थप गरिएको हो । स्कूल अफ हेल्थ साइन्स भरतपुरका शिक्षालय प्रमुख सुमन पौडेलले यस अगाडिका वर्षहरुमा २६ जनाले पूर्ण शुल्कमा पढ्दै आएकोमा त्यसलाई हटाएर त्यो सङ्ख्या पूर्ण छात्रवृतिमा थप गरिएको जानकारी दिनुभयो ।
“पूर्ण शुल्कको लागि सिटीइभिटीको आङ्गिक शिक्षालय भरतपुरमा मात्रै एक जनाले विद्यार्थीले तीन वर्षसम्म एक लाख ३३ हजारमा पढ्दै आएका थिए । आउदो वर्षबाट त्यो सवै सङ्ख्यालाई पूर्ण छात्रवृतिमा रुपान्तरण गरेका छौ” शिक्षालय प्रमुख पौडेलले भन्नुभयो “गत वर्षसम्म २४ जनाले मात्र पूर्ण छात्रवृतिमा मात्र अध्ययन गर्न पाउने व्यवस्था थियो । आउँदो शैक्षिक सत्रबाट थप २४ जना गरी ४८ जनाले निःशुल्क अध्ययन गर्न पाउने छन् ।”
तीन वर्षे डिप्लोमा तह अन्तर्गत शिक्षालयले एचए, फार्मेसी, ल्याब, डेन्टल, रेडियोग्राफी, फिजियोथेरापीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी विषय अध्ययन गर्न तीन वर्षसम्म अध्ययन गर्न आउदो वर्षबाट छात्रवृति वाहेकमा सहुलियतमा ४८ हजारदेखि ५२ हजारसम्म तिर्नु पर्ने हुन्छ । तर यही विषय निजी प्राविधिक शिक्षालयमा अध्ययन गर्दा एक वर्षकै एक लाख ७५ हजारसम्म तिर्न पर्ने हुन्छ ।


शिक्षालयले २० प्रतिशत थप छात्रवृतिको व्यवस्था गरेको छ । २० मा १० प्रतिशत प्रदेश कार्यालयको सिफारिस र १० प्रतिशत विशेष छात्रवृतिमा आवास सहितको व्यवस्था गरेको उहाले जानकारी दिनुभयो । शिक्षालयका अनुसार २४२ जना अध्ययन गर्ने कोटामा ४८ जनाले पूर्ण छात्रवृतिमा अध्ययन गर्दै आएको छ ।
शिक्षालयको गत वर्षको परीक्षामा एचएमा ९२ प्रतिशत, फार्मेसीमा ६७ प्रतिशत, ल्यावमा ६३ प्रतिशत,रेडियोग्राफीमा ९६ प्रतिशत, फिजियोथेरापीमा ७७ प्रतिशत र डेण्टलमा ७२ प्रतिशत उतीर्ण गरेको छ । चितवन जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत आङ्गिक शिक्षालयमा स्कूल अफ हेल्थ साइन्समा स्वास्थ्य सम्वन्धी अध्यापन, नारायणी वहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ, भरतपुर वहुप्राविधिक शिक्षालयमा होटल व्यवस्थापन र दिवाकर वहुप्राविधिक शिक्षालय माडीमा फार्मेसी, सिभिल इन्जिनियरिङ, पशु विज्ञान अध्यापन हुदै आएको छ ।
२०५४ सालमा स्थापना भएको शिक्षालयमा सुरुका वर्षमा प्राविधिक अध्यापन अन्तर्गत सामान्य चिकित्सा(एचए) मात्र पढाउदै आएको थियो । अहिले यस शिक्षालयमा ६ वटा कार्यक्रम सञ्चालित छ । जिल्लाको सवैभन्दा पुरानो यो शिक्षालयबाट अहिलेसम्म ३ हजार ८६० विद्यार्थी उतीर्ण गरेर गैसकेको प्रमुख पौडेलले जानकारी दिनुभयो । ती विद्यार्थी देशका सवै जिल्लाका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत रहेका छन् । जिल्लामा एक दर्जनभन्दा धेरै निजी स्तरका प्राविधिक शिक्षालय सञ्चालित रहेका छन् । विशेष गरी छोटो समयमा अध्ययन पश्चात रोजगारी पाउन सकिने र स्वरोजगार हुन सकिने भन्दै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको हरेक वर्ष सङ्ख्या वृद्धि हुदै गएको कालिका मेडिकल एण्ड टेक्निकल इन्ष्टिच्यूटका प्रमुख ध्रुवप्रसाद काफ्लेले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट