देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण हुने, धार्मिक पर्यटन प्रवद्र्धन हुने आशा

चितवन समाचारडटकम, ३० फागुन ।
पवित्र तीर्थस्थल देवघाटधाममा पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण हुने भएको छ ।
पूर्वीय धर्म र संस्कृतिका वारेमा अध्ययन ,अनुसन्धान गर्न र यसका बिषयमा गहन रुपले जानकारी उपलब्ध गराउने उदेश्यका साथमा केन्द्रको निर्माण गर्न लागिएको हो ।
आज बसेको देवघाट क्षेत्र विकास समितिको बैठकले पूर्वीय अध्ययन केन्द्र निर्माण गर्ने निर्णय गरेको समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो ।
सदस्य ढकालका अनुसार तनहुँ जिल्ला देवघाट गाँउपालिका वडा नम्वर ५ मा निर्माण हुने पूर्वीय दर्शन अध्ययन केन्द्रका लागि करिव ७० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । यसको निर्माणले समग्र पूर्वीय धर्म संस्कृतिको सम्वद्र्धन मात्र नभई देवघाटमा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको ढकालले बताउनुभयो ।


दर्शन अध्ययन गर्न आउनेलाई अवासीय सुबिधा सहितको ई लाईवे्ररीको सुबिधा पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
क्षेत्र विकास समितिको आज सम्पन्न ५५ औं पूर्ण बैठकले ०७५÷०७६को हाल सम्मको प्रगति प्रतिवेदन, ०७६÷०७७ को कार्ययोजना पनि पारित गरेको छ । आगमी बर्षका लागि करिव १० करोडको योजना तर्जुमा गरेको छ ।
बैठकले देवघाट क्षेत्र विकास समितिलाई कोषका रुपमा परिणत गरी यहाँको वृहतर बिकासका लागि पहल पर्ने निर्णय समेत गरेको छ ।
साथै पारित र स्वीकृत योजना अध्ययन र कार्यान्वयन गर्न समितिका अध्यक्षको संयोजकत्वमा स्थानीय जनप्रतिनीहरु समेत सहभागी रहने गरी ५ सदस्यीय समिति पनि बनाइएको छ ।


क्षेत्रविकास समितिका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा भएको बैठकमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गवहादुर गुरुङ, समितिका सदस्यहरु, क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरे लगायत सहभागी हुनुहन्थ्यो ।
सो क्रममा जनप्रतिनिधीहरुले देवघाटको बिकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

ताजा अपडेट