घनश्याम भुसालको टिप्पणी: ‘बिप्लवको दस्ताबेज कमजोर छ, बहसमा जाँउ प्रतिवन्धमा होईन’

चितवन समाचार डटकम, ३० फागुन ।
सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएसंगै नेपाली राजनीति केही तरंगीत भइराखेको छ । बिप्लवमाथिको प्रतिवन्धलाई लिएर विभिन्न दृष्टिकोणहरु देखा परेका छन् । यसै सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य धनश्याम भुसालसंग चितवन समाचार डटकमका लागि शालिग्राम नेपाल र तीर्थ नेपालले भरतपुरमा गर्नु भएको अन्र्तवार्ता ।

 

‘राष्ट्रिय पुजीको विकास गर्ने पार्टीले अगुल्टो बोकेर हिड्न मिल्छ ? सिलिण्डर बम पड्काउछ ? पुल भत्काउछ ? मान्छे मार्छ ? यो कुरा देशभरीबाट सबैले बिप्लवहरुलाई सोधौ । त्यो भन्दा अगाडि पहिला हाम्रो पंक्तीलाई सचेत पार्नु प¥यो ।  हामीले खान खोजेका थियौ लुट्न आयो भन्ने हिसाबले मात्र बिप्लवलाई बुझ्न हुदैन ।’

प्रश्न : सरकारले बिप्लव समुहलाई प्रतिवन्ध लगाएको सन्दर्भमा तपाइको टिप्पणी के छ ?
उत्तर : वास्तवमा कुनै पनि राज्यले आफ्ना विरुद्ध केही गतिविधि भएमा स्वभावैले दमन गर्छ । कहिले लाठी हान्छ । कहिले अस्रु ग्यास हान्छ । आवश्यकता परे गोली पनि हान्न सक्छ । जहासम्म बिप्लवजीहरुले यो जानेरै गतिविधिहरु गरिरहनु भएको छ । यो राजनीतिको समान्य कुरा हो । तर यस सन्दर्भमा के कसरी गर्ने भन्ने विषयमा राज्य धेरै जिम्मेवार हुनु पर्दछ र उसले उत्तर दिनु पर्दछ । म के भन्दछु भने हामी कम्युनिष्ट पाटी दुइ तिहाइमा छौ । समाजका हरेक क्षेत्रमा हाम्रो जबरजस्त उपस्थिति छ । यस्तो बेलामा बिप्लवहरुले किन जनतालाई प्रभावित पार्न सक्छन् भन्ने कुरा बुझ्न सकिएन भने यो चाहीँ गल्ती हुन्छ ।

प्रश्न : प्रतिवन्ध ठिक की बेठिक ?
उत्तर : म फेरिपनि भन्दछु प्रतिवन्ध आफैमा केही पनि होइन । कसलाई प्रतिवन्ध । कहिले प्रतिवन्ध । कसरी प्रतिवन्ध मुख्य कुरा यिनै हुन् ।

प्रश्न : जहाँ देख्यो त्यही समाउने भन्ने आदेश छ नी ?
उत्तर : हो यसरी गर्ने कुरा एउटा कम्युनिष्ट पार्टीले अर्को कम्युनिष्ट पार्टीलाई लगाउने कुराको प्रभाव, यसको अन्तर्य धेरै कुरा छ । यसलाई राजनीतिक तहमा छलफल गर्नु पर्ने थियो भन्ने मलाई लागेको हो । बिप्लवजीसंग मात्रै कुरा गर्नु पर्दछ भन्ने होइन । हाम्रै बिचमा कुरा भएन । यसको प्रभाव त पार्टीको तल्लो तह, आम समुदायमा पनि पर्दछ । सबैका बिचमा स्वयम बिप्लव कस्तो पार्टी हो भन्ने बारेमा छलफल भएन । यसर्थ यो कुरालाई एउटा पपुलिष्ट अर्थात सस्कृतिमा भनिनन्छ लोक रञ्जनावादी हिसाबले लिने कुरालाई म ठिक मान्दिन ।

प्रश्न : अब के गर्ने त, निकास के हो ?
उत्तर : यसका दुइवटा पाटा छन् । एउटा राज्यको अर्को पार्टीको । राज्यको आफ्नै बाध्यता होलान म इन्कार गर्दिन । तर यसका बारेमा पहिलो एजेण्डा भनेको बिप्लवका बारेमा नेकपा भित्र माथिदेखि तल्लो तहसम्म छलफल हुनु पर्दछ । प्रधानमन्त्रीदेखि पार्टीका शीर्षस्थहरुले हेरेका छन् कि छैनन् । मिडिया र बुद्धिजीविहरुले हेरेका छन् छैनन् ? उनीहरुको दस्तावेज हेर्नु प¥यो । उनीहरुले दस्तावेजमा यो समाज अर्धसामन्ती र अर्धऔपनिवेसिक होइन । यो समाज पुजीवादी समाज हो । त्यो पुजीवादमा दलाल पुजीवाद हावी छ भनेका छन् । हामीले पनि त्यही भनेका छौ । यस्तो मुलुकमा बैज्ञानिक समाजवाद चाहिन्छ भन्छन् । उनीहरुको जोडेको कुरा त्यती बैज्ञानिक भन्ने शब्दावली मात्रै हो । यस्तो कुरामा ध्यान नदिदा समस्या आइरहन्छ ।
कार्यभार हामीले भने झै राष्ट्रिय पुजीको विकास गर्ने भन्छन् । अनी राष्ट्रिय पुजीको विकास गर्ने पार्टीले अगुल्टो बोकेर हिड्न मिल्छ ? सिलिण्डर बम पड्काउछ ? पुल भत्काउछ ? मान्छे मार्छ ? यो कुरा देशभरीबाट सबैले बिप्लवहरुलाई सोधौ । त्यो भन्दा अगाडि पहिला हाम्रो पंक्तीलाई सचेत पार्नु प¥यो । हाम्रो पार्टी पंक्तीलाई बेखबर राखेर, प्रर्शििक्षत नगरेर, उनीहरुलाई केही पनि नभनेर समस्याको समाधान हुदैन । हामीले खान खोजेका थियौ लुट्न आयो भन्ने हिसाबले मात्र बिप्लवलाई बुझ्न हुदैन । यसरी राजनीति हुदैन ।

‘उहाँहरुको दस्तावेज हेर्नेहो भने अत्यन्त कमजोर छ । त्यस्तो कमजोर दस्तावेज बोकेर हिडेको मान्छेहरुलाई हामी बन्दुक लिएर पछाडि लाग्ने ? यो अत्यन्तै हास्यास्पद नहुने र गर्न नहुने कुरा हो ।’

प्रश्न : के बिप्लव प्रति सहानुभुती राख्न खोज्नु भएको हो ?
उत्तर : कुरा सम्मान र सहानुभुतीको होइन । बिप्लवलाई राजनीतिका मुलधारमा ल्याउने कुरा मुख्य प्रश्न हो । बन्दुकले ठिक पार्छु भनेर अघि वढियो भने ठिक हुदैन । हामीले यतीधेरै जितेर आएको पार्टीलाई चुनौती दिने भनेर घमण्ड देखाउन हुदैन । बिप्लवलाई राजनीतिक सैद्धान्तिक तवरले नै किनारा लगाइदिनु पर्दछ । त्यो सकिन्छ । बन्दुके चिन्तन राखियो भने हाम्रा होल आठलाख संगठित कार्यकर्ताहरुको चिन्तन पनि बन्दुके हुन्छ । यसले राम्रो गर्दैन । पार्टीलाई पनि धक्का हुन्छ । दक्षिणपन्ती बनाउछ ।

प्रश्न : अहिलेको परिस्थितिमा बिप्लवलाई राजनीतिक, सैद्धान्तिक रुपमा कुरा बुझाएर मुलधारमा ल्याउन सरकार र पार्टीले जिम्मा दिए तपाई हिम्मत गर्नु हुन्छ ?
उत्तर : यो कुराको जिम्मा लिन र हिम्मत गर्न सबै तयार हुनु पर्दछ । म त सहर्स तयार छु र हिम्मत गर्छु । म अहिलेपनि भन्छु । म कयौ पटक उहाँहरुसंग बसेको छु । अहिलेको समाज र राजनीतिको व्याख्या गर्ने मध्य एउटा अगुवाका हिसाबले यसर्थमा आज हामीले लिएको हिजोको माओवादी हिजोको एमाले र आजको नेकपाले लिएको जेनेरल सामाजिक राजनीतिक विश्लेषणको जुन दिशा छ । त्यसको प्रस्तावकका हिसाबले म अहिलेपनि भन्छु । उहाँहरुको दस्तावेज हेर्नेहो भने अत्यन्त कमजोर छ । त्यस्तो कमजोर दस्तावेज बोकेर हिडेको मान्छेहरुलाई हामी बन्दुक लिएर पछाडि लाग्ने ? यो अत्यन्तै हास्यास्पद नहुने र गर्न नहुने कुरा हो । म बिप्लवजीलाई एउटै पश्न गर्ने छु । अगुल्टो बोकेर कसरी राष्ट्रिय पुजीको विकास गर्न सक्नु हुन्छ ? तर यसका जवाफ उहाले दिन सक्नु हुन्न ।

शेयर गरौ

ताजा अपडेट