चितवन, फागुन २९ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले क्रिकेट रंगशालाको निर्माणको रफ्तार सन्तोषजनक रहेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताउनुभयो ।
कार्यक्रममा महानगर प्रमुख दाहालले भन्नुभयो, ‘यो एक महिनामा धमाधम निर्माणका काम अघि बढिरहेको छ, कपाउण्डिङको काम भइरहेको छ । बस्ने टहराहरु बनिरहेका छन्, मास्टर प्लानको योजना बनिरहेको छ ।’ प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्ष्भित्रमा रंगशाला सक्ने जनाएको छ ।
कार्यक्रममा महानगर प्रमुख दाहालले चितवनको गौरवको आयोजना भएको हुनाले यसमा अझ चितवनवासी लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब रंगशाला सुरु गरिसकियो, यो जसरी पनि बनाउनु नै पर्छ, रंगशाला अलपत्र पार्ने छुट कसैलाई छैन, नकारात्मम टिप्पणी नगरौँ ।’
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङलगायतले रंगशालाको लागि प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले सुवाझ एवम् मन्तव्य राख्नुभएको थियो ।