नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा

 

चितवन।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताउनु भएको छ ।
पूर्वी चितवनको टिकौली चौरमा सुरु भएको रत्ननगर महोसत्सवको उद्घाटन गर्दै उहाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताउनुभयो । उहाले भन्नुभयो “यो अबस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको वातावरण तयार गर्नुपर्दछ ।”


अर्थतन्त्रको महत्वपूर्ण अङ्गको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको छ । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसंग माग गर्नु भयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रर्बद्धन र बजारीकरणमा ध्यान दिन आग्रह गर्नु भयो । महोत्सव रमाइलोमा मात्र सिमित हुन नहुने भन्दै उद्देश्यप्राप्तीमा गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सभा साँसद जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीलगायतले मुलुकको अर्थतन्त्र वलियो बनाउन सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो ।
महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरेको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताउनुभयो । यस पटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताउनुभयो ।
महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् ।


महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छ । महोत्सव महोत्वब अन्तर्गत पुस २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ ।
महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट