गैडाकोट महोत्सव आजबाट सुरु

गैँडाकोट  ।चौथो संस्करणको गैँडाकोट महोत्सव तथा व्यापार मेला आजबाट माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल समिति संयोजक छवि कँडेलका अनुसार महोत्सवस्थलमा स्टल निर्माण, मञ्च, बाल उद्यान र कृषि परिसर निर्माण अन्तिम चरणमा पुगेको छ। साथै जलपरी, फिस टनेल र ओपेरा हाउस निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको उनले बताए।

महोत्सव सचिवालय संयोजक तथा संघका महासचिव तेजनारायण पाण्डेले उद्घाटनको सम्पूर्ण तयारी भइरहेको जानकारी दिए। उनका अनुसार उद्घाटनको दिन बिहान १० बजे गैँडाकोट नगरपालिकाबाट वृहत् शोभायात्रा निकालिनेछ। शोभायात्रामा नगरभित्रका धार्मिक संघसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुद तथा सामाजिक संघसंस्थाको सहभागिता रहनेछ।

संघका वरिष्ठ सदस्य तथा प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको प्रचारप्रसारलाई व्यापक बनाइएको बताए। सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्नुका साथै राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार, ब्यानर र फ्लेक्स राखिएको उनले जानकारी दिए।

संघका अध्यक्ष तथा महोत्सव संरक्षक दीपक सापकोटाका अनुसार किसानले उत्पादन गरेका कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क रूपमा प्रदर्शनी तथा बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। कृषिको प्रवर्द्धन गर्ने उद्देश्यले काउली, मुला, गाजर, सागसब्जी लगायतका उत्पादन प्रदर्शनीमा राखिने उनले बताए।

आयोजकका अनुसार महोत्सवमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। सुरक्षा व्यवस्थाका लागि आन्तरिक तथा बाह्य सुरक्षाकर्मी परिचालन, सिसिटिभी क्यामेराबाट निगरानी तथा बिमा गरिएको जनाइएको छ। महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।

शेयर गरौ

ताजा अपडेट