गोकर्ण र योगेशको सुझाव सुनेनन् ओलीले

काठमाडौं ।नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईको सुझावलाई वेवास्ता गरेका छन् । पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहमा लागेकाहरुलाई समानुपातिकतर्फको बन्दसूचीमा पूर्णत निषेध गरिएको छ ।

पार्टीको सचिवालय बैठकमा विष्ट र भट्टराईले पार्टीलाई एकताबद्ध बनाएर लैजान ईश्वर पोखरेल सहितका नेताहरु बन्द सूचीमा राख्न सुझाव दिएका थिए । तर दुई नेताले सुझाएका कुनै पनि नाम बन्द सूचीमा परेन ।

खस आर्यतर्फ गुरू बराल पहिलो नम्बरमा छन्। बराल हालै सकिएको एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका हुन् । उनी केन्द्रीय सदस्यमा पनि पराजित भएका थिए ।

यसअघि उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनित गरिएको थियो । सूचीमा डा. पुष्प कँडेल समेटिएका छन्। उनी तेस्रोपटक एमालेको लेखा आयोग प्रमुख भएका हुन्। गोरख बोगटी, नरेश पोखरेल, परशुराम अधिकारी, प्रेम पराजुली खसआर्यतर्फ पुरूष क्लस्टरमा समेटिएका छन्। महिलातर्फ सचिव पद्मा अर्याल समेटिएकी छन्।

सचिव पद्मा अर्याल यसअघि मन्त्री र सांसद भइसकेकी छिन् । अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, उषाकला राई, लक्की शेर्पा, युवा संघकी पूर्व अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको एक नेताले बताए । उनीहरु सबै यसअघि सांसद र संविधान सभा सदस्य भइसकेका छन् ।

आदिवासी जनजातितर्फ महिलामा भूमिका लिम्बू, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, तारादेवी गुरूङ, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मिमा बरामु, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरूसरा राना समेटिएका छन्। पुरूषतर्फ रामबहादुर थापा बादलका अतिरिक्त कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा लगायत सूचीमा छन्।

सचिवालय बैठकमा उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले समानुपातिकको पहिलो नम्बरमा ईश्वर पोखरेको नाम प्रस्ताव गरेका थिए । यसैगरी डा. बिन्दा पाण्डे, रचना खड्का, खगेन्द्र राई, टीकाराम भट्टराई, शम्भु थापा, भीमज्वाला राई, पूर्णशोभा चित्रकार, शर्मिला कार्कीको नाम प्रस्ताव गरेका थिए ।

पार्टीलाई एकताबद्ध बनाउन ती नाम समावेश गर्नुपर्नेमा उनीहरूको जोड थियो। बैठकले पास गरेको समानुपातिक सूची फेरफेर गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर अन्तिम सूचीमा यी नामहरु परेनन् ।

शेयर गरौ

ताजा अपडेट