भरतपुर बम बिस्फोटमा संलग्नताको आशंकामा ६ जना पक्राउ

चितवन समाचार डटकम, २९ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा मंगलवार राती सिलिण्डर बम बिस्फोट गराउने घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
घटना पछि राती र आज बिहान गरी ६ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशीलसींह राठौरले चितवन समाचारडटकम लाई जानकारी दिनुभयो ।
छानविन र अनुसन्धान चलिरहेकोले उनीहरुको पहिचान अहिले नखुलाईने राठौरले बताउनुभयो । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको उहाँले बताउनुभयो ।
वडा कार्यालयको भवनमा राती साढे १२ बजे तिरको समयमा शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको एसपी राठौरले जानकारी दिनुभयो । बिस्फोटले कार्यालयका सामाग्रीहरु ,झ्याल ढोका, फनिर्चर क्षतिग्रस्त भएको छ । मानवीय क्षति भएको छैन ।
बिस्फोट लगत्तै आगलागी भएको थियो ।
घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ताजा अपडेट