चितवन ।
कालिका नगरपालिकाको सिद्धिका चेपाङ समुदायले भोग्दै आएको समस्या निराकरणका लागि कयर खोलाको मुहानमा पक्की पुल निर्माण सुरू गरिएको छ ।
बर्सेनी बर्खायाममा कयर खोलाले बगाएर मान्छेको ज्यान जान थालेपछि कालिका नगरपालिकाले वडा नं–१० स्थित तीनदोभानमा पुल निर्माण सुरू गरेको हो । चार करोड ३८ लाख ६७ हजारको लगानीमा निर्माण हुने उक्त पुलको नगर प्रमुख विनोद रेग्मीले शिलान्यास गर्नु भएको छ ।
तीनदोभानमा पुल नहुँदा गएको साउन १० गते कयर खोलाले बगाएर ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको थियो । विगत पाँच वर्षदेखि सो खोलाले प्रत्येक वर्ष एक–दुई जनाको ज्यान लिँदै आएको छ । पुल नभएकै कारण स्थानीयले ज्यान गुमाउन बाध्य भएपछि कालिका नगरपालिकाले आफ्नै लगानीमा पुल निर्माण सुरू गरेको हो ।
कयर खोलाको मुहान तीनदोभानमा पुल नहुँदा बर्खायाममा विद्यार्थीलाई विद्यालय आउन, बिरामीलाई अस्पताल लैजान र चेपाङले उत्पादन गरेका सामग्रीहरु बजारसम्म ल्याउन समस्या हुँदै आएको स्थानीय निराजन चेपाङले बताउनुभयो । “खोला तर्न नसकेर विद्यार्थीले पढ्न नपाउने अवस्था थियो ”, उहाले भन्नुभयो, “सुत्केरीलाई व्यथा लाग्यो भने पनि अस्पतालसम्म पु¥याउन सकिन्थेन ।” पुल बनेपछि कालिका वडा नं–१० र ११ अन्तर्गत पर्ने पहाडी गाउँमा बसोवास गर्ने चेपाङ समुदायको जीवनशैली परिवर्तन हुने बताउनुभयो ।
उक्त पुल सञ्चालन भएपछि वडा नं–१० अन्तर्गत पर्ने नान्दार, पाइमाराङ, देउजर, छेरवाङ, वाकताल, जिङलाव र वडा नं–११ अन्तर्गतको चेउराङका चेपाङ समुदायको जीवनशैली परिवर्तन हुनेछ । तीनदोभानमा पुल बनेपछि सोही सडकबाट इच्छाकामनाको चौकीडाँडा, हात्तीवाङ हुँदै मवाखोलास्थित राजमार्गसम्म पुग्ने बाटो सहज हुनेछ ।
वडा नं–१० का वडा अध्यक्ष नरजंग प्रजाले पुल सञ्चालनमा आएपछि चेपाङ अकालमै मर्नु नपर्ने बताउनुभयो । बर्खायाममा कयर खोला यहाँका चेपाङ समुदायका लागि ठूलो रोग थियो । अब टन्न खाएर जतिबेला हिँडे पनि ज्यान जाँदैन उहाले भन्नुभयो ।
वडा अध्यक्ष प्रजाले चेपाङबस्तीमा अझै पनि बिजुली बाल्न नसकिएको बताउनुभयो र वडा नं–१० को पाइमाराङ, लालीवाङ, लोतुन्ती, सिन्ती झरना, लोजिवाङका करिब २०० घरधुरीमा अझै बिजुली पुग्न नसकेको बताउनुभयो । पोल गाडेको छ, तार टाँगेको छैन वडा अध्यक्ष प्रजाले भन्नुभयो, “हाम्रो प्रयास जारी छ, छिट्टै बिजुली बल्छ ।”
नगरप्रमुख रेग्मीले सीमान्तकृत चेपाङ समुदायको दैनिकी परिवर्तन र जीवनस्तर उकास्न कयर खोलाको मुहानमा पुल निर्माण सुरू गरिएको बताउनुभयो । “नगरवासीको सुरक्षा दायित्व स्थानीय सरकारको हो”, उहाले भन्नुभयो, “तीनदोभानमा बर्सेनी खोलाले बगाएर मान्छे मर्न थालेपछि नगरपालिकाको बजेटबाटै पुल निर्माण सुरू गरेका हौँ ।”
काममा विलम्ब नगरी आफूले शिलान्यास गरेको पुल समयमै उद्घाटन गर्ने भन्दै उहाले गुणस्तरमा समेत ख्याल गर्न निर्माण कम्पनीलाई आग्रह गर्र्नु भयो । कालिका नगरपालिकाले आयआर्जन, उत्पादन र उद्यमशीलता, स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार निर्माणलाई बराबर महत्व दिएर अगाडि बढाउँदै आएको रेग्मीले बताउनुभयो ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाले २०८२ असार १७ मा सम्झौता भई निर्माण कम्पनीले साउन १ गतेबाट काम सुरू गरेको जानकारी दिनुभयो । २०८३ पुस ३० गते निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने आइसिसी ब्रिज पुलको लम्बाइ ४० मिटर, चौडाइ ८ मिटर र उचाइ ७ मिटर हुनेछ ।


