काठमाडौं । जेनजी आन्दोलनपछि एक हप्ता सैनिक सुरक्षामा बसेर निस्केका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्न दबाब बढ्दै गएको छ। तर, उनले अहिलेको अवस्थामा आफू सबै हिसाबले सक्षम रहेकोले अध्यक्ष नछोड्ने प्रस्ट पारेका छन्।
सार्वजनिक कार्यक्रममा सहभागी नभए पनि केही दिनयता ओलीले प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जको धारणा बुझ्न र आफ्ना कुरा राख्न भर्चुअल संवाद गरिरहेका छन्। केन्द्रीय कमिटी बैठकका लागि सुझाव माग्न संवाद गरेको भनिए पनि उनले आफूमाथि उठिरहेको राजीनामाको विषयबारे धारणा बुझिरहेका छन्। कोसी प्रदेशबाट सुरु भएको संवाद बुधबार उनले सुदूरपश्चिमका नेतासँग गरेर टुंग्याएका छन्।
बाग्लुङ जिल्ला अध्यक्ष हिरा केसीले आउँदै गरेको केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा ओलीसँग भर्चुअलमा छलफल भएको बताए। ‘सक्रियताले दिन्नँ, इमान्दारीले दिन्नँ, कुनै हिसाबले पनि दिन्नँ, जबसम्म म सक्छु,’ ओलीले गण्डकीका नेताहरूसँगको भर्चुअल संवादमा भने, ‘जुनदिन सक्तिनँ अनि छोडिदिन्छु।’
पार्टीभित्र यतिबेला नचाहिँदो हल्लाखल्ला मच्चाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। तर, गण्डकी, कर्णालीका जिल्ला र प्रदेश अध्यक्षसँग खुलेर पार्टी राजनीति, नेतृत्व र आगामी कार्यक्रमको बारेमा ओलीले धारणा राखेको नेताहरू बताउँछन्। कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले अध्यक्ष ओलीसँग भर्चुअल संवाद भएको बताए। यद्यपि, उनले विषयबस्तु खुलाउन चाहेनन्। आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमा पदाधिकारीले ओलीको राजीनामालाई प्रमुख सर्त बनाउने तयारी गरिरहेका छन्।
यस्तै असोज २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ। यही अवसर पारेर ओलीले जिल्ला र प्रदेश तहका नेतासँग भर्चुअल संवाद गरेका हुन्। उनले आफ्ना धारणा मात्र राखेनन्, नेताका पनि सुनेका छन्। बागमती, मधेस र कोसी प्रदेशका नेतासँग भने ओली धेरै बोलेनन्। ‘हामीसँग अध्यक्षले केही भन्नुभएन, सबैका कुरा सुन्नु भयो, सुुझाव लिनुु भयो,’ बागमती प्रदेशका एक सहभागी नेताले भने, ‘उहाँले भदौ २३ गते र २४ गते भएको घटनाक्रमकाबारेमा ब्रिफिङ गर्नुभयो। परिस्थिति कस्तो हुन्छ त्यस आधारमा पार्टीले निर्णय गर्छ। अनि मुुभ हुने हो भन्नुु भएको छ।’
अध्यक्ष ओलीले कर्णाली र गण्डकीका नेताहरूसँग आफूले नेतृत्व नछोड्ने बताएका थिए। तर, कोसीका नेतासँग प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने धारणा राखेका थिए। ओलीले सत्ता छोडेर भागेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई जेन–जीको माग बमोजिम अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे। लगत्तै कार्कीले जेन–जीकै पहिलो सर्त रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।
यसप्रति एमाले असन्तुष्ट छ र उसले अदालत जानुपर्ने निष्कर्ष निकालेको छ। ओलीले जिल्ला र प्रदेशका नेतालाई यसको जानकारी दिए। खोटाङ जिल्ला अध्यक्ष देवविक्रम राईले कोसीका १४ वटै जिल्ला अध्यक्षसँग असोज २० गते भर्चुअल संवाद भएको बताए। १४ वटै जिल्ला अध्यक्षलाई बोल्न समय दिइएको थियो। कोसीका जिल्ला र प्रदेश नेताहरूले पार्टी तत्काल महाधिवेशनमा जानुपर्ने कुरा उठाएका छन्। बुधबार पनि ओलीले लुम्बिनी र सुदूरपश्चिमका जिल्ला र प्रदेश अध्यक्ष, इन्चार्जसँग भर्चुअल संवाद गरे। लुम्बिनी इन्चार्ज समेत रहेकी एमाले सचिव पद्मा अर्यालले आन्तरिक राजनीतिकै विषयमा छलफल भएको बताइन्। सुदूरपश्चिमका नेतासँगको संवादमा पनि ओलीले रिपोर्ट मात्र लिएका थिए।


