एक अर्ब ८५ करोडको लगानीमा चितवन विजनेस कम्प्लेक्स सञ्चालन

चितवन ।
भरतपुर विमानस्थल अगाडि एक अर्व ८५ करोड लगानीमा निर्माण भएको चितवन बिजनेश कम्प्लेक्स सञ्चालनमा आएको छ ।
घटस्थापनाको अवसर पारेर सोमबार चितवन बिजनेश कम्प्लेक्स औपचारिक रुपमा सञ्चालनमा आएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । चितवन बिजनेश कम्प्लेक्स प्रालिका अध्यक्ष दिनुप बरालले भरतपुरमा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले होटल तथा रिसोर्ट र मार्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । जिल्लाका १८ जनाको लगानी रहेको यस कम्प्लेक्समा विभिन्न घरायसी सामग्री र आरामदायी वास वस्न, कार्यक्रम गर्नको लागि सेमिनार हलसहितको होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएको उहाले बताउनुभयो ।
एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेक्स दुई तला अण्डरग्राउण्डसहित ११ तलाको रहेको छ । अण्डरग्राउण्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छ वटा तलामा होटल सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चेन होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले जानकारी दिनुभयो । होटलमा ५८ वटा कोठा रहेका छन् । होटलमा पुस महिनासम्म २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ । कम्प्लेक्समै सञ्चालन भएको चितवन बिजनेश मार्टले सेल्सबेरीको फ्रेन्चाइज लिएको छ । यहाँ ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरालगायत घरायसी सामान राखिएको छ । सेल्सबेरीमा मात्रै २५ करोड रुपियाँ लगानी रहेको बरालले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट