अधिकाँस सरकारी कार्यालयमा क्षती, जलेकै भवनबाटै सेवा सुरु

चितवन । जेनजीले गरेको आन्दोलनका क्रममा गत मङगलबार भएको आगजनी र तोडफोडबाट चितवन जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षती पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पालिकाको वडा कार्यालयदेखि अन्य सेवा प्रदायक सरकारी कार्यालय गरी ७९ वटा कार्यालयमा आगजनी र तोडफोडबाट क्षती पुगेको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको वैठकले सरकारी कार्यालयको क्षती विवरण संकलन तथा मूल्याङ्कन गर्न समिति गठन गरेको थियो । समितिले आइतबारसम्म गरेको अध्ययनको आधारमा प्रारम्भिक विवरण अनुसार ७९ वटा कार्यालयमा क्षती भएको सूचना आएको छ ।
निजी क्षेत्रमा भने १७ वटामा क्षती पुगेको छ । विवरण संकलन कार्य भइराखेकाले यो विवरण वृद्धि हुने अनुमान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको संयोजकत्वमा प्राविधिक, इन्जिनिएर, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि सहितको टोलीले अध्ययन, विवरण संकलन तथा मूल्याङ्कलन कार्य गरिराखेको छ । जिल्लाको सदरमुकाम रहेको भरतपुर क्षेत्रमा धेरै सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।
कतिपय कार्यालयमा केहीपनि काम नलाग्ने गरी ध्वस्त भएको छ । केहीमा भने थोरै कागजपत्र बाँकी रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रमा भएका पालिका र अन्य सरकारी कार्यालयमा पनि क्षती पुगेको छ । सवै कार्यालयको क्षतीको विवरण, भएका सामग्री काम लाग्न सक्ने अवस्थाको विवरण संकलन कार्य भइराखेको छ ।
सेवा प्रादायक कार्यालयले आइतबारबाट जे जती सकिन्छ त्यती सेवा सञ्चालन गरेको प्रजिअ अर्यालले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य आइतबारबाटै सुरु भएको छ । पालिका, वडा कार्यालयबाट सिफारिस नआउदासम्म थप काम अगाडि वढाउन नसकिने भएकाले पालिकाको काम सञ्चालन गर्ने गरी काम भइराखेको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो “सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसंगको वैठक रहेको छ । त्यही वैठकबाट जिल्लाका सवै पालिकाले सिफारिसको काम तत्काल सञ्चालन गर्न निर्देशन दिने तयारी छ” उहाले भन्नुभयो “जे जस्तो अवस्थामा छौ त्यहीबाट सेवा सञ्चालन गर्नेछौ । वस्ने स्थान नभएमा घरबाट गुन्द्री ल्याएर भएपनि सेवा दिन लगाउने तयारी भएको छ ।” कम्प्युटर तथा प्रिन्टर नभएको अवस्थामा कर्मचारीले आफ्नै घरबाट ल्याएर भएपनि सेवा सञ्चालन गर्नु पर्नेछ । सेवा दिनै नसक्ने कार्यालयले सेवाग्राहीलाई सूचना दिएर भएपनि सेवा दिनु पर्ने हुन्छ प्रजिअ अर्यालले बताउनुभयो । सोमबारबाट सामाजिक सुरक्षा भत्ता र सिफारिस सञ्चालन हुनेछ । सेवाग्रहीलाई अधिकतम सेवा दिने तयारीमा छौ ।
तोडफोडमा संलग्नलाई नियन्त्रण गरिदै
आन्दोनका क्रममा सरकारी तथा निजी कार्यालय प्रतिष्ठानमा आगाजनी र तोडफोड गर्नेको पहिचान गर्दै नियन्त्रणमा लिने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जिल्लाका सरकारी कार्यालयमा आगजनी गर्नेको पहिचन खुलेको छ उनीहरुलाई छिटै नियन्त्रणमा लिने जानकारी दिनुभयो । पुरीले भन्नुभयो “ आगजनी गर्दै गरेको, आगो लगाउन उक्साउनेहरुको भिडियो सामाजिक सञ्चालमा भेटिएका छन् । उनीहरुको फेसवुकमा नै राखेको पाएका छौ । ती सवै अध्ययन गरिएको छ । पक्राउ पर्ने छन् ।” सरकारी सम्पत्ति तोडफोड गरी नोक्सान गर्नेलाई नियन्त्रणमा लिएर कार्वाही गर्न गृहमन्त्रालयबाट आदेश आइसकेकाले कुनैपनि नछुट्ने उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट