दुर्गन्धित पुङ्गी खोला बन्यो आकर्शक फोटो खिच्ने स्थल

 

चितवन ।
नारायणगढ बजारको मध्य भागबाट वग्ने पुङ्गी खेला नजिक आएपछि नाक थुन्नु पर्ने अवस्था आउने गरेको थियो । सवैले यही खोलामा फोहर फाल्ने र यसको जग्गा कब्जा गरेर संरचना निर्माण गरेका थिए । वर्षातमा मात्र यो खोलाले आफ्नो रुप देखाएपछि सवैले सम्झिने गर्दथिए ।
तर अहिले रुप फेरिएको छ । भरतपुर महानगरपालिकाले बजारको मुख्य क्षेत्रबाट वग्ने पुङ्गी खोलाको संरक्षण संगै सौन्दर्यकरण कार्यलाई अगाडि वढाएपछि यसको मुहार नै फेरिएको हो । भरतपुरको वाइपास सडकदेखि शिवघाट नजिकबाट नारायणी नदीमा मिसिने यो खोलाको लम्बाइ ६.३ रहेको छ ।
यसको सवैभन्दा पहिला जग्गा संरक्षणको कार्यलाई अगाडि वढाइयो । भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो “ महानगरको प्रमुख बजार क्षेत्र नारायणगढ हो । यहीबाट वगेको यो खोलाको सफाइ मात्र होइन संरक्षण आवश्यक ठानेर हामीले एउटा अभियान नै चलाएका थियौ ।” गरे के हुदैन भनेर देखाएका छौ दाहालले भन्नुभयो । मुख्य बजार क्षेत्र भएर वग्ने भएको कारण यसको जग्गा संरक्षण गर्न, मिचेको जग्गा फिर्ता ल्याउन धेरै जटिल थियो । तर हामीले धेरै जसो फिर्ता ल्याइसकेका छौ केही स्थानमा मात्र बाँकी रहेको छ उहाले भन्नुभयो ।
हरेक वर्ष यसको सौन्दर्यकरणमा रकम छुट्टाएर काम गरेका छौ । खोलामा फोहोर फाल्न नदिने व्यवस्था गरेका छौ । बजारको मुख्य स्थान भएकाले मानिसको चहलपहल धेरै हुने मध्यनजर गरेर खोलाको दायाँवायाँ फुटपाथ निर्माण गरेका छौ महानगर प्रमुख दाहालले भन्नुभयो । महानगरको दायित्व एउटा मात्र नभएर सवै क्षेत्रमा हेर्नु पर्ने भएकाले यसमा महानगरसंगै सङघको लगानीमा पनि निर्माणको काम भइराखेको उहाले जानकारी दिनुभयो ।
घना वस्तीका बिच वग्ने खोलालाई प्राकृतिक रुप दिनकोलागि सरसफाइ संगै यसको दयाँवायाँको क्षेत्र विस्तार गरेर सौन्दर्य गर्ने कार्य गरिएको छ । भरतपुर महानगरपालिकाले कञ्चन पानी बग्न दिने गरी काम गर्दै आएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार सौन्दर्यकरण गर्नको लागि अहिलेसम्म १७ करोड ४० लाख रुपियाँ खर्च भइसकेको छ ।
संघ र महानगर दुवैको लगानीमा यहाँ काम भइराखेको छ । नारायणी नदीमा मिसिने स्थान र नारायणगढको क्षेत्रपुरबाट यसको सौन्दर्यकरणको काम भइराखेको छ । ६.३ किलोमिटर लम्वाइको यो खोलाको अहिलेसम्म दुवैतर्फ संरक्षण र फुटपाथ गरेर चार किलोमटरको काम भएको छ । चालु आर्थिक वर्षमा पनि यसको निर्माण कार्य भइराखेको महानगरपालिकाले जानकारी दिएको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडवहादुर थापाले संघ र महानगरपालिकाको लगानीमा सौन्दर्यकरण कार्य भइराखेको बताउनुभयो । कञ्चन पानी वग्ने, ढुङगा विछ्याएर फुटपाथ निर्माण गरिने, साइकल लेन बनाउने, मानिस आएर वस्नकोलागि कुर्सीको व्यवस्था गर्ने, विभिन्न जातजातिका वनस्पती फूल रोप्ने र सुन्दर पार्क निर्माण गर्ने गरी काम भइराखेको थापाले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नंं १० का केशव पौडेलले भन्नुभयो “विहान दौडिन जाँदा जङगल छेउ खोज्दै जाने गरिएको थियो तर अहिले पुङ्गी खोलामा हिड्न मिल्ने बनाएपछि यही आउछु ।” उहाँ मात्र होइन मर्निङ वाक गर्नेहरुको प्रमुख स्थान नै यहाँ िखोला किनार भएको छ । खोलाको संरक्षण संगै हिड्न मिल्ने ठाँउ बनेपछि नारायणगढ बजार जाने छोटो बाटो समेत निर्माण भएको स्थानीय गणेश पौडेलले बताउनुभयो । निर्माण पूरा भएपछि यहाँ बग्ने पानी सफा गरी बोटिङको व्यवस्था समेत गर्ने महानगरको तयारी रहेको छ । केही वर्ष अगाडि यही खोलाको बाटो भएर हिड्दा नाक थुन्नेहरु अहिले एक पटक फोटो खिचेर हिड्न थालेका छन् ।

शेयर गरौ

ताजा अपडेट