चितवन ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सुरक्षाकर्मीलाई स्रोत साधनको कमी हुन दिन नहिुने बताउनु भएको छ । चितवनको मुग्लिनमा निर्माण भएको ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन कार्यक्रममा आइतबार सम्वोधन गर्दै उहाँले अहिले भएको स्रोत साधन उपयुक्त नभएपनि सेवा दिइराखेको भन्दै प्रसंसा गर्नु भयो ।
उहाले भन्नुभयो “अहिले तपाइहरु जुन अवस्थामा रहेर सेवा दिइराख्नु भएको छ त्यो प्रयाप्त छैन । सिमित स्रोत साधनका बिच काम गर्नु भएको छ । यसलाई थप साधन स्रोत उपलब्ध गराउन प्रदेश सरकारको पहल हुनेछ ।” बढ्दो सवारी साधनको चाप अनुसार प्रयाप्त जनशक्ति छैन । तर पनि काम गर्नु पर्ने हुन्छ । थोरै जनशक्तिमा धेरै कामको चाप भएको प्रदेश सरकारले महसुस गरेको बताउनुभयो । प्रदेश सरकारले सेवा सुविधा थप्नको लागि पहल गर्ने जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जनसङ्ख्या, सवारी साधनको वृद्धि, आपराधिक गतिविधि, गुण्डागर्दीको अवस्थालाई हेर्दा अहिले भएको प्रहरीको सख्या कम भएको बताउनुभयो । देशकै मध्य भागमा रहेको जिल्लामा थोरै ट्राफिक प्रहरीले धेरै सुरक्षा दिनु पर्दा कठिन भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले २०५५ सालको दरवन्दीले अहिलेको चापलाई धान्न नसक्ने बताउनुभयो । ३१ जनाको दरवन्दी रहेको जिल्लामा ७३ जनाले काम गरिराखेका छन् । उहाले भन्नुभयो जिल्लाको आवश्यकतालाई हेर्दा तत्काल १५० जना ट्राफिक प्रहरी चाहिन्छ । जिल्लाका ९० किलोमिटर मुख्य राजमार्ग रहेको छ । त्यसपछि जिल्लाका विभिन्न सहायक राजमार्गहरु रहेका छन् । जिल्लामा विस्तार भएका सहर बजार, बस्ती, सवारी साधनको चापले गर्दा अत्यन्तै कम जनशक्तिमा काम गर्दा कठिन भएको बताउनुभयो । मुग्लिन ट्राफिक प्रहरी कार्यालयमा ९ जना जनशक्तिले सेवा दिइ रहेको छ ।
मुग्लिन ट्राफिक प्रहरी कार्यालयमा नवनिर्मित भवन इच्छाकामना गाउपालिकाको २९ लाख लागत र जनसहभागीताको लगानीमा निर्माण भएको हो । गाउपालिका अध्यक्ष दानबहादुर गुरुङले भवन अभावमा काम गर्दा कठिन भएको महसुस गरेर क्रमागत लगानीमा निर्माण गरेको जानकारी दिनुभयो । पालिका र जनसहभागीता गरेर ३५ लाखमा ७ कोठाको भवन निर्माण भएको हो । थप अन्य काम गर्नु पर्ने भएकाले आउदा दिनमा निर्माणको काम हुने उहाले बताउनुभयो ।
मुग्लिन भएर दैनिक आठ हजार भन्दा धेरै सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । तराइबाट काठमाडौं, पोखरा, राजधानीबाट बहिरीने, पोखरा, वाग्लुङलगायतको स्थानमा जाने मुख्य राजमार्ग मुग्लिन रहेको छ ।


