चितवन ।
बजेट अभावमा गत वर्ष रोकिएको गैंडा गणना यस वर्ष गरिने भएको छ । दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैंडा र पाटेबाघको गणना यसै वर्ष गरिने भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले गत वर्ष बजेटको आभाव रोकिएको गैंडा गणना यसै वर्ष गरिने गरी प्रकृया अगाडि वढेको जानकारी दिनुभयो । सवैभन्दा पहिला बाघको गणना गरिने छ उहाले भन्नुभयो त्यसपछि गैंडा गणनाको कार्य हुनेछ । मङ्सिरको तेस्रो हप्ताबाट बाघ गणना गर्ने गरी तयारीमा जुटेका छौ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले भन्नुभयो “यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको छ । बाघ र गैंडाको मुख्य बासस्थान रहेको चितवन किनुञ्ज भित्रबाट यसको गणना कार्य हुनेछ ।”
गणनाको लागि विभागले बजेटको व्यवस्थापन गरेको छ उहाले भन्नुभयो “आधुनिक क्यामरा ट्रयापिङ विधिबाट गणना गरिनेछ । हामी अहिलेदेखि नै तयारीमा जुटेका छौ ।”
हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उहाले बताउनुभयो । एक सिंगे गैंडा फागुनको अन्तिममा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । गैँडा गणना गर्न एक महिना लाग्दछ ।
गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले १८ लाख रकम विनियोजन गरेको छ । गणनाका लागि एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र दाताको सहयोगमा गणना कार्य सम्पन्न गर्ने तयारी गरेको हो ।
सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राखिने जानकारी दिनुभयो । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङख्या छुट्याइने छ । जङगलमा भएको झाडी कम भएपछि फागुनमा गैंडा गणना गरिने तयारी भएको हो ।
गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।
सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।


