मुग्लिन ।
मुग्लिनदेखि नागढुङगासम्ममा हुदै गरेको सडक विस्तारपछि बाटो काट्नको लागि सजिलो बनाउन निर्माण गर्ने भनिएको अकासे पुल अनिश्चित भएको छ ।
नागढुङ्गा मुग्लिन सडक पश्चिम खण्ड र नागढुङ्गा मुग्लिन सडक गरी करिब दुइदर्जन स्थानमा आकासे पुल निर्माणको लागि योजनामा परेको छ । तर यस राजमार्गको मुख्य बजार क्षेत्रमा रहेका स्थानीय व्यापारीले पुल निर्माण हुदा व्यापारमा साघुरो भएर व्यापारमा असर पार्ने भन्दै निर्माणको लागि अवरोध सिर्जना गरेका छन् ।
मुग्लिन सडक योजना (पश्चिम खण्ड) कार्यालय मुग्लिनका प्रमुख इन्जिनियर केदार नेपालले पुल निर्माणको लागि स्थानीयले अवरोध गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो “अहिले सडक निर्माणको चरणमा रहेको छ, तत्काल निर्माण गर्न दिनु भएको छैन । हामी छलफलका क्रममा रहेका छौ ।” बनाउन दिनु भएको छैन भन्न मिल्दैन तर अहिले निर्माण गर्न सकिने अवस्था भने रहेको छैन प्रमुख नेपालले भन्नुभयो ।
डेडिकेटेड डवल लेनसहितको सडक निर्माणभएपछि यहाँ सवारी साधनको गति तिब्र हुने गर्दछ । यस्तो अवस्थामा सडक पार गर्न कठिन हुने भएकाले राजमार्गको मुख्य बजार क्षेत्रका सुरु हुने विन्दु र अन्तिम विन्दुमा दुइवटा आकासे पुल निर्माणको योजना सडक निर्माणकै क्रममा रहेको छ । तर यस क्षेत्रका स्थानीय व्यापारीले पुल निर्माण गर्दा जग्गमम धेरै लाग्ने, पसल अगाडि पुल भएपछि व्यापारमा त्यसले नकरात्मक प्रभाव पार्ने भन्दै निर्माण गर्न दिएका छैनन् ।
पुल निर्माणको लागि कार्यालयले प्रयास गरेपनि यसले सफलता पाएको छैन । इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले भन्नुभयो “मुग्लिन बजारमा पुल बन्न नदिने पक्का भयो । हामीले धेरै प्रयास ग¥यौ । तर सम्भव भएन । आकासे पुल बने व्यापारमा समस्या हुन्छ । हामीले छेक्छ भन्दै बनाउन दिएनन् ।” उहाले भन्नुभयो “ कुरिनटारमा सर्वशान्ति माध्यमिक विद्यालय सडक पारी तर्फ छ त्यहाँ जानको लागि चाहिनछ भनेर हामीले धेरै प्रयास गरेका छौ त्यहाँ पनि कुनै निश्चित छैन ।” विकास निर्माणलाई अवरोध गर्नु त्यती राम्रो हुदैन उहाले भन्नुभयो हामीले अझै प्रयास गरेका छौ तर मान्नु भएको छैन ।
आयोजना कार्यालय अनुसार, मुग्लिनमा २ वटा, कुरिनटारमा २ वटा, मलेखुमा २ वटा, वेनीघाटमा २ वटा, मझिटार र अन्य स्थानमा गरी ११ वटा आकासे पुल निर्माण गर्न योजनामा बजेट विनियोजन गरिएको छ । तर स्थानीयको अवरोधका कारण यस क्षेत्रका कुनैपनि स्थानमा पुल निर्माणको प्रकृया अगाडि वढेको छैन ।
मलेखुदेखि नागढुङ्गासम्मको स्थानमा पनि बाटो काट्नको लागि अपाङग मैत्री ¥यामसहितको आकासे पुल निर्माणको योजना रहेको छ । यस क्षेत्रमा पनि निर्माण गर्न स्थानीय व्यापारीले अवरोध गरेका छन् । नागढुङ्गा मुग्लिन सडक योजना पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी माधव पौडेलले स्थानीय व्यापारी तथा सडकछेउमा घर भएकाले अवरोध गरेको कारण निर्माणको प्रकृया अगाडि वड्न नसकेको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो “धेरै छलफल र प्रयासपछि खानीखोला क्षेत्रमा अपाङग मैत्री ¥यामसहितको आकासे पुलका लागि स्थान छुट्याएर काम अगाडि वढेको छ अन्य स्थानमा सकिएको छैन ” उहाले भन्नुभयो “ अन्य स्थानमा पनि पुल निर्माणको योजना रहेको छ तर हामीले स्थानीयलाई वुझाउन सकेका छैनौ ।” सूचना अधिकारी पौडेलले भन्नुभयो “यस अगाडि म बनेपा धुलिखेल सडकखण्ड विस्ताको कार्यालयमा काम गरेको थिए । त्यहाँ सडक विस्तारको योजना रहेपछि आकासे पुलको योजना परेको थिएन । स्थानीयले सडक फराकिलो भएपछि हामीलाई आकासे पुल चाहिन्छ भनेर माग गर्नु भयो । तर योजनामा नभएको निर्माण हामीले गर्न सकेनौ ।”
मुग्लिन नागढुङ्गा सडक विस्तारको योजनामा दुइ दर्जन आकासे पुलको योजना परेको छ । तर यहाँका स्थानीयले निर्माण गर्न दिनु भएको छैन । पुलको आवश्यकताको महसुस नभएर उहाँहरुले बुझ्न सक्नु भएको छैन सूचना अधिकारी पौडेलले भन्नुभयो । यस कार्यालय अन्तर्गत धार्के, गजुरी, मलेखु, महादेववेसी, सिम्लेलगायतको स्थानमा बाटो काट्ने आकासे पुल निर्माणको योजना रहेको छ ।
वर्षातमा ठुला काम रोकिए
मुग्लिन नागढुङ्गा सडक विस्तारको पुर्व र पश्चिम दुवै खण्डमा अहिले सामान्य काम बाहेक अन्य निर्माणका कार्य रोकिएको छ । वर्षातमा काम गर्दा समस्या हुने भएपछि निर्माणको काम रोकिएको कार्यालयले जानकारी दिएको छ ।
मुग्लिनदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्र नागढुङ्गा मुग्लिन सडक योजना (पश्चिम खण्ड) कार्यालयले हेर्दै आएको छ । यस क्षेत्रमा अहिलेसम्म ३३ प्रतिशत काम सम्पन्न भएको छ । १० किलोमिटर भन्दा धेरै कालोपत्रे निर्माण भइसकेको छ । चार अर्व ८० करोड ५९ लाख ७४ हजार ९ सय १२ रुपियाँ ६४ पैसामा ठेक्का लागेको थियो । शर्मा जेडआइसिजी जेभीले निर्माणको ठेक्का पाएको कम्पनीले २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नु पर्ने रहेको छ ।
त्यस्तै गरी पूर्वी खण्ड नागढुङ्गादेखि मलेखुसम्म ५५ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । यस खण्डमा अहिले २७ किलोमिटर सडक पक्की निर्माण भइसकेको छ । ५५ किलोमिटर सडक निर्माणका लागि दुइ वटा खण्डमा ठेक्का सम्झौता भएको छ । नागढुङ्गादेखि नौविसे सडकखण्ड १२.२ किलोमिटरका लागि एक अर्व ३१ करोड रुपियाँमा ठेक्का लागेको हो । जैन्सु सगुन जेभीले निर्माणको जिम्मा लिएको छ । यसको निर्माण सम्झौता २०७८ चैत २९ गते भएको थियो ।
नौविसे मलेखु सडक खण्डको ४३.५ किलोमिटरको लागि ५ अर्व ३३ करोड रुपियाँमा विस्तार कार्य भइराखेको छ । यसको निर्माण शर्मा लामा जेभीले गर्दै आएको छ । यसको निर्माण सम्झौता २०७९ वैशाख १४ गते भएको थियो ।
दैनिक १५ हजार भन्दा धेरै सवारी साधन सञ्चालन हुने भएकाले यस क्षेत्रमा काम गर्न धेरै कठिन हुने गरेको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो । अहिलेसम्म दुवै ठेक्काको ४९.७३ प्रतिशत भौतिक प्रगती भएको छ, भने ६६.९४ प्रतिशत खर्चको प्रगती भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।


