बन्यो सडक फराकिलो, बनेन व्यवस्थित पार्किङ

 

चितवन ।
चितवनको भरतपुर महानगरपालिका भित्र फराकिलो कालोपत्रे सडक प्रसस्त निर्माण हुदा सवारी साधन चलाउन सुविधा भएको छ ।
भरतपुर महानगरको मुख्य स्थान नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्म करिब सात किलोमिटर सडक छ लेनको निर्माण भएको छ । छ लेनको क्षेत्रमा ठुला सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्र सञ्चालनमा रहेको छ । तर व्यवस्थित पार्किङ अझैसम्म निर्माण हुन सकेको छैन ।
व्यवस्थित पार्किङ नहुदा बजार आएकाहरुले छ लेनमा नै सवारी साधन रोकिदिदा समस्या भएको छ । महानगरपालिकाले व्यवस्थित पार्किङको स्थान छुट्याउन नसक्दा ठुला सडक निर्माणको सुन्दरता कुरुपतामा परिणत भएको नारायणगढका व्यवसायी गणेशप्रसाद पौडेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले छ लेनमा सवाधनलाई पार्किङ गर्न नदिएको बताउनुभयो । जवरजस्ती पार्किङ गर्ने साधनलाई लक गरेर जरिवाना लिने गरेका छौ उहाले भन्नुभयो “अस्थायी रुपमा लायन्सचोक, गणेशहल नजिक र वडा कार्यालय नारायणगढ नजिकै व्यवस्था गरेका छौ तर त्यहाँ जान मान्दैनन् ।” थोरै समयको लागि पार्किङ गरेका हुन्छन् त्यसैले दिनभरी रोकेको जस्तो देखिन्छ उहाले भन्नुभयो ।
मुल सडकको दायाँवायाँ ठुला पार्टी प्यालेस र होटलहरु सञ्चालनमा रहेका छन् । त्यस होटलमा हुने कार्यक्रममा आएकाहरुले सडकमा नै पार्किङ गर्दै आएका छन् । जसले गर्दा लामो दुरीमा हिडेका सवारी साधन, छोटो दुरीमा सञ्चालनमा हुने सवारी साधनलाई समेत समस्या पर्दै आएको छ । व्यवस्थित र सुन्दर सहर निर्माणको लागि प्रयास गरेको महानगरले पार्किङको लागि स्थान निर्माण नगर्दा अहिले महानगर अव्यवस्थित बन्दै गएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका पूर्व उपाध्यक्ष रामप्रसाद सुवेदीले नारायणगढमा पार्किङ समस्या हट्न नसकेको बताउनुभयो । सःशुल्क पार्किङको व्यवस्था गरेर भएपनि यो अस्तव्यस्त हटाउनु पर्दछ उहाले भन्नुभयो ‘नयाँ बनेका घरमा अण्डरग्राउण्ड पार्किङ बनाउनु पर्ने र बनाएकाले अन्य प्रयोजनमा लगाउन हुदैन ।’
लायन्सचोकको पुरानो तरकारी बजारमा रहेको खाली जग्गालाई सःशुल्क पार्किङ स्थलका रुपमा व्यवस्था गरेको महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिनुभयो । लायन्सचोकमा रहेको पुरानो तरकारी मण्डीमा पार्किङ राख्दा बजार आउनेहरुलाई पायक पर्ने अपेक्षा गरेका छौ उहाले भन्नुभयो प्रसस्त गाडी भने अटाउन सक्ने स्थान खोजी भइराखेको बताउनुभयो । बजारको मुख्य क्षेत्रमा व्यवस्थित पार्किङ गर्ने स्थानको अभाव छ । सकेसम्म सार्वजनिक सवारी साधन प्रयोग गरेर बजार जान उहाले अनुरोध गर्नुभयो ।
पार्किङ नभएको कारण बजारमा आफूले गाडी लैजान छाडेको भरतपुरका स्थानीय विनोदकुमार खतिवडाले बताउनुभयो । आवश्यक पर्ने सामग्री भरतपुरमा नै खरिद गर्न बाध्य छु, गाडी लैजाउ पार्किङ गर्ने स्थान छैन, सडकमा पार्किङ गर्दा जोखिम हुन्छ त्यसैले गाडी लैजाने गरेको छैन उहाले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट