माडीको सिमरा जान झोलुङगे पुल निर्माण हुदै

 

चितवन ।
खोला तरेर हिड्नु पर्ने वाध्यता माडीको सिमरा वासीमा हट्न लागेको छ । माडी नगरपालिका वडा नंं ३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानु पर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम रहेको थियो ।
माडीको मुख्य बजार वसन्तपुरबाट ३ किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्ज र खोलाले घेरेको सिमरा वस्तीमा जान सधै समस्या हुदै आएका थिए । अहिले सङ्घीय सरकारको बजेटमा झोलुङगे पुल निर्माणधिन रहेको छ । दुइसय ३८ मिटर लम्वाइको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
सस्पेन्सन व्रिज डिभिजन कार्यालय पुलचोक तलितपुरका इन्जिनियर दीपक तिमल्सिनाले भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भएको जानकारी दिनुभयो । दुइ करोड ६५ लाख रुपियाँमा ठेक्का लागेको पुलको अहिले दुवै तर्फ टावर निर्माण भइसकेको छ । लठ्ठा तान्ने र प्लेट विछ्याउने काम मात्र बाँकी रहेको उहाले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्राय स्थानीय पूर्वाधार विकास विभाग मार्फत आएको बजेटले निर्माण कार्य भएको उहाले बताउनुभयो । “दसैं अगाडिनै निर्माण सकेर स्थानीयले यात्रा गर्न सक्ने गरी काम भएको छ ” इन्जिनियर तिमल्सिनाले भन्नुभयो “सिमराका स्थानीय खोला वर्षातमा पनि पैदल नै खोला तरेर बजार आउने गरेका छन् ।” निर्माण कम्पनीलाई छिटो काम गर्न दवाव दिएको उहाले बताउनुभयो ।
कान्छाराम युनिकन जेभीले ठेक्का पाएको निर्माणमा अहिलेसम्म कुनै समस्या नभएको कम्पनीका प्रतिनिधि हरि खड्काले जानकारी दिनुभयो । “हामीले सवै सामग्री ल्याइसकेका छौ कुनै समस्या छैन” उहाले भन्नुभयो “लठ्ठा तान्ने काम सुरु भएको छ । यो केही दिनमा सकिन्छ त्यसपछि हिड्ने स्थानको प्लेट बिछ्याउने काम हुनेछ ।”
माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले पालिकाको सवैभन्दा पिछडिएको वस्तीमा सुविधा दिन पाउदा खुसी लागेको बताउनुभयो । खोला र निकुञ्जले घेरिएको सिमरा गाउँमा थारु समुदाय मात्र बसोबास गर्दै आएका छन् । खेती राम्रो हुने भएकाले यहाँका वासिन्दा अन्यत्र बसाइ सरेर जान सकेका छैनन् । ८५ घर धुरी रहेको यहाँ जान पक्की पुल निर्माण गर्न ठुलो बजेट लाग्ने भएकाले बनाउन नसकिएको पालिका प्रमुख महतोले बताउनुभयो । सङघीय सरकार मार्फत आएको बजेटबाट झोलुङगे पुल निर्माण भएपछि वासिन्दाले धेरै राहत पाउने उहाले बताउनुभयो ।
स्थानीय अगुवा श्री दवाडीले मौलिक परम्पराको शैलीमा निर्माण भएको थारु जातिको घर भएको यहाँको अलग्गै सास्कृतिक विशेषता रहेको बताउनुभयो । “यस वस्तीको संरक्षण र विकासका लागि हामीले धेरै मेहनत गरेका छौ ” उहाले भन्नुभयो “नगरपालिका कार्यालय दैनिक उपभोग्य सामग्री लिन अध्ययन गर्न आउन पनि ज्यादै कठिनको अवस्था रहेको थियो ।” पुल निर्माण भएपछि यहाँको सामाजिक आर्थिक विकासमा टेवा पुग्ने उहाले बताउनुभयो । ८५ घर धुरी मध्य ८३ घर थारुको वस्ती रहको छ ।
खडाइको वार खपटाले छाएको छानो रहेको मौलिक सस्कृति देखिने यस क्षेत्रको संरक्षणका लागि डिपिआर निर्माण भएर काम अगाडि बढाएको दवाडीले जानकारी दिनुभयो । अव झोलुङ पुल निर्माण भएपछि यस क्षेत्रलाई सास्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न काम गर्ने जानकारी दिनुभयो ।
पालिकाले झोलुङगे पुल निर्माण पूरा भएपछि थारु वस्ती प्रवेश गर्ने मुल स्थानमा स्थानीय शैलीमा प्रवेशद्वार निर्माण गरेर यहाँको संरक्षणको काम अगाडि बढाउने तयारी रहेको पालिका प्रमुख महतोले बताउनु भयो । थारु वस्ती रहेको सिमरालाई संरक्षणको कामको लागि पालिकाले आउदा दिनमा बजेट विनियोजन गरेर काम गर्ने प्रमुख महतोले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट