बकुल्लहर सिद्धि सडक निर्माण तिब्र, कालिका नगरपालिकाको सौन्दर्यता बढाउने

चितवन समाचार डटकम
चितवन २६ फागुन । बकुल्लहर सिद्धि सडकले कालिका नगरपालिकाको सौन्दर्यता बढाउने भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत रत्ननगर नगरपालिकाको बकुल्लहरदेखि सिद्धिसम्म निर्माण भइराखेको सडक आकर्षक बन्ने भएपछि कालिकाको सौन्दर्यता बढ्ने भएको हो । स्थानीय तहले आफ्नो क्षेत्रमा फराकिलो सडक निर्माण गर्न नसकेको भनेर आलोचना भइरहदा कालिका नगरपालिकामा भने आकर्षक सडक निर्माणको काम भइराखेको छ ।
बकुल्लहर, शक्तिखोर हुदै सिद्धिसम्म निर्माण भइराखेको सडकको चौडाइ ११ मिटर रहेको छ । दुवै तर्फ ढलसहितको निर्माण भइराखेको सडकले यस नगरपालिकाको स्वरुपमा परिर्वतन गर्ने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ बताउनु हुन्छ । ‘हाम्रो नगरपालिकामा कम्तीमापनि ६ मिटरका भित्री सडकहरु छन्, हामीले बाटो निर्माणलाई प्राथमिकतामा राखेका छौ यसले एउटा स्वरुप निर्माण गर्दछ ।’ नगरपालिका क्षेत्र प्रवेश गर्नासाथ यहाँको सडक, भवन, भौतिक संरचनाले देख्नेछ विकासको काम प्रमुख श्रेष्ठले भन्नुभयो ‘यो सडक निर्माणपछि पहाडी क्षेत्रका स्थानीयहरुको जनजीवनमासमेत सकरात्मक प्रभाव पर्दछ ।’


२६ करोडको लागतमा निर्माण भइराखेको सडकको ५० प्रतिशत काम सम्पन्न भएको निर्माणको जिम्मा पाएको स्वच्छन्द कन्ट्रक्सन प्रालिका प्रतिनिधि जीवनाथ पन्तले जानकारी दिनु भयो । बजार र वस्ती क्षेत्रमा हामीले दुवै तर्फ ढल निर्माण गरेका छौ उहाले भन्नु भयो ‘स्थानीयको माग अनुसार ११ मिटर चौडाइ बनाएका छौ ।’ पहिलाको योजनामा चौढाइ थोरै थियो स्थानीयको दवाव वढेपछि यसको चौडाइ ११ मिटर बनाएको हो उहाले भन्नुभयो ।
कुल लम्बाइ २२ किलोमिटर रहेको यो सडक अहिले १७ किलोमिटर क्षेत्र निर्माण भइराखेको छ । बाँकी भाग डिभिजन सडक कार्यालयले गर्नेछ । खानेपानीको पाइपको विषयले निर्माणको काम रोकिएकोमा अहिले त्यसलाई समाधान गरेर काम अगाडि बढेको पूर्वाधार विकास आयोजना भरतपुरका प्रमुख पुस्कर पोखरेलले बताउनु भयो । १८ महिना भित्र निर्माण सम्पन्न गर्नु पर्ने यसको समय १२ महिना पूरा भइसकेको छ । आउदो कात्तिक महिनासम्ममा निर्माण गर्ने लक्ष्य लिएको उहाले बताउनु भयो । शक्तिखोर तर्फको सडक योजना अनुसारको मितिमा निर्माण भएको छ । बकुल्लहर तर्फ केही ढिला भएको थियो । अहिले समस्या सुल्झाएपछि काम अगाडि वढेको पोखरेलले बताउनु भयो ।


शक्तिखोर, उपरदाङगढी हुदै पृथ्वीराजमार्ग जोड्ने सडकलाई समेत यो सडकले छुने भएकाले राजधानी काठमाण्डौ जाने बैकल्पिक मार्ग समेत हुने पोखरेलले बताउनु भयो । यो सडक निर्माणसम्पन्न हुदा शक्तिखोर फिसलिङ मार्गले पनि एउटा गती लिने उहाले जानकारी दिनु भयो ।
सडक निर्माणपछि कालिका नगरपालिका आउनेहरुले विकासको नमुना देख्न पाउने छन् ६ नं. वडाका अध्यक्ष विनोद रेग्मीले भन्नु भयो । हामीले कामलाई प्राथमिकता दिएका छौ उहाले भन्नु भयो ‘निर्माणको कामको प्रत्यक्ष अनुगमन गर्ने, देखिएका समस्या छिटो समाधान गरेकाले काम छिटो भएको हो ।’ सडक निर्माणपछि दायावायाँ फुटपाथ र बत्तीको व्यवस्था गर्ने योजना रहेको उहाले जानकारी दिनु भयो । बकुल्लहरबाट जाने यो सडक निर्माण हुदा कालिका नगरपालिका प्रवेश भयो भन्ने सन्देश बाटो र यहाँको विकासले देख्न पाउने छ हामीले बोल्न पर्दैन अध्यक्ष रेग्मीले भन्नु भयो ।
नगरपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको खोलेसिमल बजारमा १५ देखि २२ मिटरसम्म चौडाइ बनाउने गरी काम भइराखेको रेग्मीले बताउनु भयो । बजारलाई व्यवस्थित पार्नको लागि दीर्घकालिन योजना नगरपालिकामा रहेको उहाको भनाइ छ । इच्छाकामना गाउपालिका, रत्ननगर नगरपालिकाको केही वडा र आफ्नै नगरपालिका र पहाडी क्षेत्रको प्रमुख व्यापारी केन्द्र रहेको खेलेसिमल बजारलाई व्यापारिक क्षेत्र बनाउने गरी काम भएको रेग्मीले बताउनु भयो ।


यस बजार क्षेत्रमा अहिले एक दर्जन भन्दा धेरै वित्तिय सस्था र सुन पसलहरु छन् । अन्य व्यापारिक सस्थाहरु रहेकाले ५० हजार भन्दा धेरैलाई यो बजारले सेवा दिएको नगरपालिका कार्यालयले जनाएको छ । वसाइसरी आउने जनसख्यालाई ध्यानमा दिएर बजारलाई व्यवस्थित पार्नको लागि काम भइराखेको कार्यालयले जनाएको छ । लाहुरे चोक, क्लब चोक खोलेसिमल समेटेर पूर्वी चितवनको ठुलो व्यापारिक केन्द्र बनाउने योजना रहेको ६ नं. वडाका अध्यक्ष रेग्मीले बताउनु भयो । नगरपालिकाको खेलेसिमलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैया वेड क्षमताको अस्पताल निर्माणको अन्तिम तयारी भएको छ । छिट्टै यसको औपचारिक घोषणाको तयारी रहेको कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट