चितवन ।
भरतपुर महानगरको मुख्य क्षेत्रमा निर्माणाधिन भूमिगत विद्युतीकरणको काम वर्षातमा रोकिएको छ ।
भूमिगत काम गर्नको लागि वर्षातमा समस्या भएको र सडक डिभिजन कार्यालयले सडक तथा पेटी खन्न नदिएपछि काम रोक्नु परेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले तीन महिनाको लागि काम रोकिएको जानकारी दिनुभयो । “असार साउन र भदौ महिनामामा भूमिगत काम गर्न नमिलेको कारण अहिले रोकेका छौ” उहाले भन्नुभयो “वर्षात कम भएपछि पुन निर्माणको कामलाई अगाडि वढाउने छौ ।”
कार्यालयले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका काम रोकेको हो । पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भने भइरहेको छ । सडक विभागले वर्षातभरी खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काम गर्न रोकेको छ । सडक छेउमा खाल्टोा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले हामीले त्यसलाई मध्यनजर गरेर खन्ने काम बन्द गरेका छौ ।
भूमिगत विद्युतको कामको प्रगती अहिलेसम्म ७५ प्रतिशत रहेको छ । निर्माण कम्पनीले सामग्री ल्याउन ढिला गरेको कारण निर्माण सुस्त भएको उहाले बताउनुभयो । अहिलेसम्म भरतपुरमा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सकिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सकिएको छ । अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी छ । आयोजना प्रमुख सुवेदीले भन्नुभयो “फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।” तेत्तीस केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ ।
वर्षात सकिएपछि सडकको दायाँवायाँ खनेर काम गर्ने उहाले बताउनुभयो । भरतपुर महानगरको पुलचोकदेखि हाकिमचोक, वसपार्क हुदै गोन्द्राङसम्म , वसपार्कदेखि आपटारीसम्मको वाइसपास सडक खण्डमा यो परियोजना सञ्चालनमा रहेको छ । त्यस्तै गरी आपटारीदेखि पुलचोकसम्मको मुख्य राजमार्गको दायाँ वायाँ क्षेत्रमा योजनाले काम गर्दै आएको छ । भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब २० करोड बजेटमा ठेक्का लागेको छ । पोखरामा भने एक अर्व ३० करोड रुपियाँमा काम भइराखेको उहाले बताउनुभयो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०८० माघ ६ गते सकिएको थियो । निर्माणको काम नसकिएपछि आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको थियो । थपिएको समयमा काम नभएपछि फेरी म्याद थप गर्दै निर्माणको काम अगाडि वढाइने प्रमुख सुवेदीले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।


