उद्धार र राहतमा खटिन बागमती काँग्रेसको आग्रह

 

हेटौँडा ।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति नेपाली काँग्रेस बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मङ्गलवार विज्ञप्ति जारी गर्नुहुँदै घटनामा उद्धार र राहतका साथै थप मानवीय भौतिक क्षति हुनबाट रोक्नका लागि सबै क्षेत्रबाट यथाशीघ्र खटिन आग्रह गर्नुभयो ।
बाढीबाट प्रभावित रसुवा जिल्ला लगायत प्रभावित क्षेत्रका नेपाली काँग्रेस पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेश तहका विभिन्न जिम्मेवारीमा रहेका भातृ तथा शुभेच्छुक सङगठनका नेता तथा कार्यकर्तालाई सम्पर्क विहीनको खोजी, प्रभावितको उद्धार र राहतमा यथाशीघ्र खटिन काँग्रेस बागमती प्रदेशले निर्देशन समेत दिएको छ ।
राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढीमा परेका र पर्न सक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा लाग्न काँग्रेसले सबै कार्यकर्तामा निर्देशन जारी गरेको हो । प्राकृतिक प्रकोपमा परी जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा काँग्रेसले समवेदना प्रकट गरेको छ ।

 

शेयर गरौ

ताजा अपडेट