चितवन समाचारडटकम , २६ फागुन ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी बिचको खटपटले केही दिन अघि महानगर तातेको थियो ।
प्रमुख दाहालवाट महानगरमा अनियमितता भएको भनि उपप्रमुख शाहले आरोप समेत लगाउनुभयो । पत्रकार सम्मेलन नै गरेर प्रमुख दाहालले आरोपको खण्डन गर्नुप¥यो । प्रमुख दाहाल नेकपा र उपप्रमुख शाह नेपाली काँग्रेसकी नेतृ हुनुहुन्छ ।
भरतपुर महानगरपालिका वडा नम्वर १७ को कार्यालय भवनको आज प्रमुख दाहालले शिलान्यास गर्नुभयो । सो क्रममा वडा अध्यक्ष ललितमान तामाङले महानगरले बिकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भन्दै प्रमुख दाहालको प्रशंसा गर्नुभयो ।
‘अनियमितता भयो रे, अपारदर्शी भयो रे भन्ने कुरा आए यस्तो केही होईन विकासका काम अघि बढेका छन् सबै पारदर्शी छ हल्लाका पछाडी लाग्नु आवश्यक छैन ’– तामाङ्गले भन्नुभयो ।
महानगरको बिकासमा सबै जुटेर लाग्नुपर्नेमा जोड दिदैं वडावासीलाई हल्लाका पछाडी नलाग्न आग्रह समेत गर्नुभयो । तामाङले भाडामा लिएर कार्यालय संचालन गर्नु परेको अवस्थालाई अन्त्य गर्दै यसै आ.व.बाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताउनु भयो ।
१७ नम्बर वडा विगतदेखि नै विकास निर्माणमा पछि परेको बताउँदै वडा अध्यक्ष तामाङले यसको विकासको लागि महानगर प्रमुख दाहालले उल्लेख्य सहयोग गरिरहनु भएको बताउनु भयो । वडा अध्यक्ष तामाङ नेपाली काँग्रेसका हुनुहन्छ ।
हामी पुर्वाधार निर्माणमा केन्द्रीत छौं ः मेयर दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनु भएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी कामहरु अगाडि बढाइरहेको बताउँदै प्रमुख दाहालले आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भैरहेको बताउनु भयो ।
गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उहाँले सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताउनु भयो ।
केही वडा कार्यालयहरुको निर्माण सम्पन्न भैसकेको र ४ वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताउनु भयो ।
उहाँले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो । त्यसैगरी उहाँले निर्माण कार्यमा नियमित समन्वय गर्न प्राविधिकहरूलाई र नियमित अनुगमन गर्न वडावासीलाई आग्रह गर्नुभयो ।
नदीतटीय क्षेत्रका जनसमुदायहरु विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उहाँले यसको दीर्घकालीन समाधानका लागि जग्गा उकास सहितको रापती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको बताउनु भयो ।
यो योजना सम्पन्न हँुदा यी समस्याहरु समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रमुख दाहालले पूर्वाधारकासाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउनु भयो ।