चितवन । चितवनका सुनचाँदी व्यवसायीहरू सटर बन्द गरेर सडकमा र्यालीमा उत्रिएका छन्।
सरकारले सुन र सुनका गरगहनामा विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरहरूमा भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले आज आईतबार चितवनमा बृहत मोटरसाईकल र्याली तथा खबरदारी सभा गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त आह्वानमा नारायणगढको शहिदचोकबाट शुरू भएको मोटरसाईकल र्याली चौविसकोटि, गितानगर, पार्वतिपुर, कृष्णचोक, अमृतचोक, बुद्धनगर, तेलौली, चनौली, शारदानगर टाउन, रामपुर, मगंलपुर हुँदै पुल्चोकमा आएर कोण सभामा परिणत भएको थियो। व्यवसायीहरूको आन्दोलनमा कालिगढ तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको छ ।
विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) को नयाँ व्यवस्थाले बजारमा मन्दी निम्त्याउने, उपभोक्तामा आर्थिक भार थपिने र अवैध कारोबारलाई प्रोत्साहन हुने नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष तथा संयुक्त आन्दोलन परिचालन समितिका अध्यक्ष हेमबहादुर विश्वकर्माले बताउनुभयो।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुको रुपमा कर लगाएपछि करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले बताउनुभयो।
सुनको भन्सार छिमेकी मुलुक भारतमा जस्तै ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।
सुनचाँदीलाई नेपालमा विलासिताको वस्तु नभई संस्कृति, परम्परा र बचतको माध्यमका रूपमा लिइने उल्लेख गर्दै यस्तो करले बजारमा महँगी बढ्ने र चोरीपैठारीको जोखिम बढ्ने उहाँले बताउनुभयो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्माले भन्नुभयो “करले उपभोक्तालाई आर्थिक भार पर्नुका साथै बजारमा मन्दी आउने र लाखौं व्यवसायी, कालिगढ र कर्मचारीहरूको रोजगारी खोसिने खतरा छ । ”
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष टेकबहादुर विश्वकर्माले यस अव्यवहारिक करको विरोध गर्दै सरकारलाई नागरिकको समस्याप्रति जवाफदेही हुन र जनविरोधी निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो “हामी कर तिर्न विरोधी होइनौँ, तर असमान र अनुचित कर संरचनाले व्यवसाय धराशायी बनाउने खतरा बढेको छ । ”
खबरदारी सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी महासंघका बागमति प्रदेश सदस्य दिनेश खाती, रत्ननगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा संयुक्त आन्दोलन परिचालन समितिका सहसंयोजक दिपक सेन्चुरी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष मोहन सुनार, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव तथा संयुक्त आन्दोलन परिचालन समितिका सदस्य सचिव गोपाल बहादुर वि.क थापा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सहकोषाध्यक्ष भीमप्रसाद वि.क, पश्चिम चितवन इकाई नं १ संयोजक अन्जु सुनार, पश्चिम चितवन इकाई नं २ का सल्लाहकार कृष्ण रसाईली, पश्चिम चितवन इकाई नं ३ संयोजक विजय वि.क , पश्चिम चितवन इकाई नं ४ का संयोजक मेख बहादुर सुनार (आकाश), सचिव मधु सुनार, इच्छाकामना गाउँपालिका इकाई समिति संयोजक राजु सुनार, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामे, पश्चिम चितवन सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मैना सुनारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
र्यालीको क्रममा फरक फरक सात स्थानमा खबरदारी सभा आयोजना भएको थियो। यसअघि संयुक्त संघहरुको आयोजनामा असार १८ गते संयुक्त विरोध र्याली तथा खबरदारी सभा, असार १९ गते पूर्वी चितवनको केन्द्रीत संयुक्त विरोध मोटरसाईकल र्याली तथा खबरदारी सभा आयोजना गरिएको थियो।