नारायणीमा तत्काल दुईवटा पुल निर्माण थाल्न साँसद कृष्णभक्त पोखरेलको माग

चितवन समाचार डटकम, २६ फागुन ।

संघीय संसदका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेलले नारायणी नदीमा तत्काल दुईवटा पुलको निर्माण थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संघीय संसदको आजको बैठकमा बोल्दै साँसद पोखरेलले नारायणगढ गैडाँकोट जोड्ने हाल सञ्चालित पुल पुरानो र सवारी चाप धान्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल दुईवटा नयाँ पुलको निर्माण गर्नुपर्ने बताउनुभयो ।

‘पुल करिव ४० बर्ष पुरानो भयो, राजमार्गमा सवारी चाप बढ्यो अव पुरानै पुलमा भरपर्दा जुनसुकै बेला दुर्घटनाको खतरा छ । सम्माननीय सभामुख मार्फत नयाँ पुल निर्माणको काम तत्काल अघि बढाउन म सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’–साँसद पोखरेलले भन्नुभयो । पूर्व पश्चिम राजमार्गको यातायात आवागमनको ब्यबस्थापनलाई ध्यान दिदैं दुई÷दुई लेनका दुईवटा पुल आवश्यक रहेको पोखरेलको भनाई थियो ।

चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो छ ।  चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपुरतर्फ गैंँडाकोट नगरपालिकामा आवद्यिक र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ ।

सडक विभागले सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरेको भनिएपनि काम अघि बढेको छैन ।
पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको आवश्यक्ता खड्कीएको छ । हालको सो पुल दुई लेनको हो । विसं २०३८ मा सो पुल निर्माण गरिएको हो । दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी सङ्ख्या बढेपछि आवागमनमा समस्या भएको हो ।

ताजा अपडेट