चितवन, ।
चितवनमा ठूला सभा सम्मेलन तथा महोत्सव गर्ने एक मात्र स्थल नारायणगी नदी किनार हो । साँझ बिहान पैदल हिड्नेदेखि केही समय बिताउने, आराम गर्ने स्थलको रुपम किनारमा भिड लाग्दछ । धार्मिक कार्यदेखि मानिसको जमघट हुने हरेक क्रियाकलापको केन्द्र नारायणगढ नजिकैको नारायणी किनार सबैको गन्तव्य बनेको छ ।
गत वर्ष असोजमा आएको बाढीको कारण यो स्थानको जमिन एक मिटर भन्दा धेरै गहिरो खाडल बनाएर माटो ग्रावेल बगाएको छ । खडल भएकै स्थानमा गत हिउँदको पुसमा चितवन महोत्सव सम्पन्न भयो । खाल्टोमा नै हरेक गतिविधि भएका छन् । यो खाल्टो भएको स्थान पुरेर प्राकृतिक रुपमा नै संरक्षण गर्न सकिएन भने नदीको धार नै परिवर्तन भएर यही ठाउँमा वग्ने जोखिम छ । यस स्थानबाट नदी वगेमा नारायणगढ बजारको वस्ती नै उच्च जोखिममा पर्दछ ।
नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर तथा नदी कटान सम्बन्धी विज्ञ प्रकास लम्सालले नदी कटानको जोखिम रोक्न छिटो प्राकृतिक संरक्षण गर्नु पर्ने बताउनु हुन्छ । “नदी किनारको उत्तरी क्षेत्रमा प्राकृतिक रुपमा ठुला ढुङगा विछ्याएर कटान रोक्न पर्दछ” उहाले भन्नुभयो “यहाँ कंक्रिटको रोकावट गर्न हुदैन त्यो अझ जोखिम हुने गर्दछ ।” कंक्रिटले रोकथाम गर्दा प्राकृतिक रुपमा उपयुक्त हुदैन । एक किलोमिटर भन्दा लामो नदी किनारको चौरमा ठाडो गरेर आधा दर्जन स्थानमा प्राकृतिक संरक्षण गर्नु पर्ने उहाँ बताउनु हुन्छ ।
“नदी किनार मानिसको मात्र बास स्थान होइन । यो माछा, जलचर अन्य प्रजातीको पनि वासस्थान हो । प्राकृतिक रुपमा ठुला ढुङगा ल्याएर अहिलेको भएको चौरमा विछ्याउन सकेमा माटो कटान रोकिन्छ” विज्ञ लम्सालले भन्नुभयो । पहाडमा हाम्रा पुर्खाले ठूला ढुङ्गाको आड लगाएर खेत जोगाउनु भएको थियो । पहाडको ठाडो खोलाको कटान समेत त्यस्ता ठुला ढुङ्गाले रोकेको थियो विज्ञ लम्सालले भन्नुभयो अहिले पनि त्यस्तो ठाँउ पहाडमा सुरक्षित देखिन्छ ।
त्यस्तै गरी नारायणी नदीको कटान दीर्घकालिन रुपमा रोक्नको लागि नदी किनारको सुन्दर चौर बचाइ राख्न ढुङ्गाको व्रेकर राख्नु पर्ने उहा बताउनु हुन्छ । यस विषयमा कार्यालयसंग बजेटको अभावले काम गर्न सकिएको छैन । यसको लागि जनप्रतिनिधिले चासो दिएर संरक्षणका लागि बजेट पारेर काम गर्र्नु पर्ने विज्ञ लम्सालले बताउनुभयो ।
दुइ वर्ष अगाडि नारायणी नदी किनारमा सि बिचको अवधारणा अनुसार ढलान गरेर कटान रोकिएको थियो । तर त्यो संरचनालाई भन्दा पर वस्ती नजिक पुगेर नदीले चौरमा खाल्टो बनायो उहाले भन्नुभयो । अब भएको चौरलाई संरक्षण गर्न ढलान होइन ढुङ्गाको ब्रेकर राख्नु पर्दछ । यो नै प्राकृतिक संरक्षण हो लम्सालले भन्नुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारको संरक्षणमा पहल गरेपनि बजेट सुनिश्चितता नभएको कारण अहिले निर्माणको कुनै काम हुन नसक्ने बताउनुभयो । “हामीले यो स्थानमा कंक्रिटबाट होइन ठुला ढुङ्गा राखेर संरक्षण गर्नू पर्छ भन्ने सोचेका छौ” उपप्रमुख अधिकारीले भन्नुभयो “संङ्घीय सरकारबाट बजेट निकासा गर्ने गरी पहल भएको छ ।”
नारायणी पुलबाट दक्षिण भएको तटबन्धनको केही भागमा ठुला ढुङ्गा राखेर तटबन्धन गरिएको छ । कंक्रिट ढलान वा पर्खाल लगाएर तटवन्धन गर्दा प्राकृतिक रुपमा त्यो राम्रो मानिदैन । त्यसैले ती स्थानमा प्रकृति मैत्री तटबन्धन गरिएको हो विज्ञ इन्जिनियर लम्सालले भन्नुभयो । यसरी तटबन्धन गर्दा प्रकृति मैत्री हुन जान्छ । जलचरको वासस्थान हुन्छ । नदी कटानबाट जोगिन सकिन्छ तर यस्तो विषयमा सोच्ने र योजना बनाउने नगरिएको उहाले बताउनुभयो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नारायणी नदी किनार संरक्षणका लागि प्रदेश सरकारसंग पहल गरेपनि अहिलेसम्म कुनै निकास ननिस्केको बताउनुभयो । “हामीले प्रदेशको वन मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा जानकारी गराएका छौ” उहाले भन्नुभयो “प्रदेश सरकारले संरक्षणको लागि बजेट निकासा गरे सुरक्षित हुन सक्छ ।”
समयमा संरक्षण गर्न नसकेमा नारायणी नदीको भङ्गालो नै अहिले भएको चौरमा पस्न सक्छ । गर्त वर्षको जस्तै बाढी आयो भने नदी किनारकै वस्ती कटानको जोखिममा पर्ने उहाले बताउनुभयो । नदी नियन्त्रणको प्रयास नगरेमा नारायणगढ बजार नै जोखिममा पर्न सक्छ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाले भन्नु भयो “यदी सरकारले यो वर्ष बजेट छुट्टाएर काम नगरे निजी क्षेत्रको पहलबाटै रोकथामका उपाय गर्नछौ ।”
