जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङ । बागलुङमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको उपचारका लागि मणिमाल अस्पताल पोखरामा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका– ५ बतासे डाँडामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा र टिका कुमारी कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएपछि शव बुर्तिवाङ नै फर्काइएको प्रहरीले जनाएको छ । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ ।

जिप दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्य आठ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एक जना बुर्तिवाङमा उपचारपछि घर फर्किनुभएको छ । जिप सडकदेखि ६० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट