चितवन । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”
वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उहाँको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताउनुभयो ।
वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताउनुभयो । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उहाँले भन्नुभयो ।
माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताउनुभयो । रासस


