ताप्लेजुङ । ताप्लेजुुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोला नजिकै मंगलबार राति खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजेन्द्र लिम्बू रहेका छन्। फुङलिङ नगरपालिका–६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले २८ वर्षीय लिम्बूमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घटना राति १ बजेतिरको हो।
प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बू फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए। त्यहाँ अर्जुन र सरिताबीच सामान्य विवाद हुँदा झगडा भएको थियो। योगमायाले सम्झाएर उनीहरूलाई फुङलिङ–६ उकाली पानीस्थित घर फर्कन भनेकी थिइन् । उनीहरूलाई छिमेकी तेजेन्द्र लिम्बूले साथ दिएका थिए। फर्कने क्रममा सिस्ने खोला नजिकै अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गरी उनको बायाँ कोखमा गम्भीर चोट पुर्याए। घटनास्थलमा नै तेजेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।