धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलामाथी रहेको पुल भासिँदा सवारी आवागमन अवरूद्ध भएको छ ।
पुलको एकापट्टीको भाग भासिँदा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको हो । निर्माणाधिन सडकमा पुलको छेउमा नयाँ पुल निर्माणको क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण सङगैै जोडिएको पुरानो पुलको एकापट्टिको भाग २ मिटर लम्बाई र १.५ मिटर चौडा भाग भासिएको हो । सोप्याङ खोलाको पुल भासिएपछि पृथ्वी राजमार्गबाट काठमाडौं आउ–जाउ गर्ने सवारी पूर्ण रूपमा रोकिएको छ ।
भासिएको पुलमा वैकल्पिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन भइरहेको निर्माणाधीन सडक आयोजनाले जनाएको छ । काठमाडौं जाने सवारीले अहिले गल्छीबाट नुवाकोट हुँदै छहरे टोखाको सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सक्ने छन् ।


