ट्रयाक खनेको सत्ताइस वर्षपछि कालोपत्रे हुँदै

मनहरी ।
पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरी बजार हुँदै ग्रामीण क्षेत्रहरुमा पुग्ने सडक निर्माण थालिएको २७ वर्षपछि कालोपत्रे सुरु भएको छ ।
मनहरी गाउँपालिका वडा नं ८ सिमपानी–देवकोट हुँदै राक्सिराङ गाउँपालिका ३ जोड्ने सडकलाई पक्की बनाउन थालिएको हो । यो सडकको पहिलो ट्रयाक २०५५ सालमा खन्न सुरु गरिएको थियो । ढिलै भएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाएर सडकको हैसियत सुधार गरी कालोपत्रे गर्न थालेपछि पश्चिम मकवानपुरका दर्जनौं गाउँका बासिन्दा लाभान्वित हुने भएका छन् ।
तत्कालीन बागमती प्रदेश सरकारले अघि सारेको पुष्पलाल प्रदेश चक्रपथ सडक आयोजना अन्तर्गत मकवानपुरको मनहरी र धादिङको आदम खण्ड अन्तर्गत ६ किलोमिटर सडक पूर्ण रुपमा कालोपत्रे गरिएको हो । सोही सडक अन्तर्गत धादिङतर्फ पनि सडकको हैसियत सुधार गरी कालोपत्रे गर्ने कार्य भइरहेको बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय हेटौँडाले जनाएको छ ।
मनहरी–आदमघाट खण्डको सडक क्षेत्र हेरिरहनु भएको पूर्वाधार विकास कार्यालय हेटौँडाका इन्जिनियर निरज महतका अनुसार मनहरी गाउँपालिका ८ सिमपानीबाट देवकोट गाउँ हुँदै राक्सिराङ गाउँपालिकाको सीमाक्षेत्रमा ७ किलोमिटर सडक खण्ड चालू आर्थिक बर्षको असार मसान्तसम्ममा पूर्ण रुपमा निर्माण सम्पन्न हुनेछ । कूल ६ किलोमिटर लम्बाई र न्यूनतम ६.२५ मिटर चौँडा सडक निर्माण भइरहँदा यसअघि नै बनेका बीच भागमा रहेका स्ल्याब ढलानका कारण बाटो पूर्ण सम्पन्न हुँदा ७ किलोमिटर लम्बाइ पुग्नेछ ।
कूल १८ करोड ३८ लाख रुपियाँ लागतमा रमन–पिआर–निरिक्षा जेभी ललितपुरले ठेक्का सम्झौता गरेको यो सडक खण्डको कालोपत्रेको कामका लागि २९ लाख ५५ लाखको लागत अनुमान गरिएको थियो । तर, ठेकेदारले १८ करोड ३८ लाख रुपियाँमै ठेक्का सकार गरेर २०७८ साल चैत २३ गतेदेखि निरन्तर काम गरिरहेको छ ।
यो सडक निर्माणसँगै पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं १, २, ३ र राक्सिराङ गाउँपालिकाले वडा ४, ५, ८, ९ र कैलाश गाउँपालिकाको २, ३, ४, ७ र ८ वडासहित धादिङ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् । प्रदेश सरकारको अवधारणा बमोजिम पुष्पलाल प्रदेश चक्रपथ सडक आयोजना सम्पन्न भइसक्दा मनहरी बजारबाट धादिङको आदमघाट बजारमा बढीमा साडे २ घण्टा यात्रामा पुग्ने गरी सहज सडक निर्माण हुने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।
‘यो बाटो सम्पन्न हुनासाथ काठमाडौँ जाने छोटो बाटोको रुपमा यसले सफलता पाउने र पृथ्वीराजमार्गको लामो यात्राबाट पूर्वतर्फबाट आउने यात्रीहरुले सुविधा पाउनेछन्’, अध्यक्ष मल्लले भन्नुभयो । यो सडक निर्माण सम्पन्न सहज यातायात पहुँच बढ्ने हुँदा पश्चिम मकवानपुरका ग्रामीण क्षेत्रहरुमा हुँदै आएको अबैध गाँजाखेतीमा आबद्ध किसानहरु पनि तरकारी तथा फलफुल खेतीसहित कृषि कर्ममा लाग्ने अपेक्षा गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट